काठमाडौं – भोटेकोशी बाढीबाट प्रभावित नागरिकको राहत, पुनःस्थापना तथा पुनर्निर्माणका लागि नेपाल निर्जीवन बीमा व्यवसायी संघ र आबद्ध निर्जीवन बीमा कम्पनीहरूले ३ करोड ४७ लाख रुपैयाँ सहयोग गरेका छन् ।


ADVERTISEMENT


संघका अध्यक्ष मनोहर दास मुलको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले विभिन्न बीमा कम्पनीबाट संकलित उक्त रकम अर्थमन्त्री डा। स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेको हो । रकम हस्तान्तरण कार्यक्रममा सम्बन्धित बीमा कम्पनीका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृतहरूको समेत उपस्थिति थियो ।


ADVERTISEMENT

# # #


यससँगै सगरमाथा लुम्बिनी इन्स्योरेन्स, हिमालयन एभरेष्ट इन्स्योरेन्स र युनाइटेड अजोड इन्स्योरेन्सका कर्मचारीहरूले व्यक्तिगत रूपमा गरेको २६ लाख २३ हजार १८ रुपैयाँ सहयोगसमेत हस्तान्तरण गरिएको संघले जनाएको छ । यसरी बीमा क्षेत्रबाट हस्तान्तरण गरिएको कुल सहयोग ३ करोड ७३ लाख २३ हजार १८ रुपैयाँ पुगेको छ । संघका अनुसार सहयोग गर्ने कम्पनीहरूमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स, सगरमाथा लुम्बिनी इन्स्योरेन्स, नेपाल इन्स्योरेन्स, नेको इन्स्योरेन्स, प्रभु इन्स्योरेन्स, युनाइटेड अजोड इन्स्योरेन्स, सानिमा जीआईसी इन्स्योरेन्स र हिमालयन एभरेष्ट इन्स्योरेन्स रहेका छन् ।

एनएलजी इन्स्योरेन्स र आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सले यसअघि नै बाढीपीडितका लागि सहयोग रकम हस्तान्तरण गरिसकेका छन् । संघका अनुसार अन्य निर्जीवन बीमा कम्पनीहरू पनि सहयोग गर्ने प्रक्रियामा छन् । यसैबीच, संघले भोटेकोशी बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली तथा बेपत्ताको सकुशल उद्धारको कामना गरेको छ । उद्धारमा खटिएका सरकार, सुरक्षा निकाय, नागरिक समाज तथा मित्रराष्ट्रका उद्धारकर्ताप्रति पनि संघले आभार व्यक्त गरेको छ ।

बाढीबाट क्षतिग्रस्त आयोजना, पूर्वाधार तथा संरचनाको विवरण प्राप्त भएपछि बीमा दाबी भुक्तानीलाई उच्च प्राथमिकतामा राखेर शीघ्र भुक्तानी गर्ने प्रतिबद्धतासमेत संघले जनाएको छ ।

रकम बुझ्दै अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले देश संकटमा परेको समयमा बीमा क्षेत्रले गरेको सहयोगप्रति धन्यवाद व्यक्त गरेका छन् ।