काठमाडौं – त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको भूमिगत विद्युत् गृहमा फसेकाहरूको खोजी गर्ने क्रममा एउटा शव फेला परेको छ ।


ADVERTISEMENT


सुरक्षाकर्मीको उद्धार टोलीले सुरुङभित्रबाट शव बाहिर निकालेको आयोजनाका प्रमुख आवाश ओझाले जानकारी दिए । फेला परेको शवको पहिचान भने खुल्न बाँकी छ । भोटेकोशी बाढीपछि आयोजनाको सुरुङभित्र फसेका दुई जनालाई यसअघि उद्धार टोलीले १० दिनपछि जीवितै बाहिर निकालेको थियो ।


ADVERTISEMENT

# # #


विद्युत् प्राधिकरणका मेकानिकल फोरम्यान सञ्जय साह र सुपरभाइजर कविर महर्जनलाई नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र नेपाल विद्युत् प्राधिकरणको संयुक्त टोलीले जीवितै उद्धार गरेको हो । उद्धार गरिएका दुवै जनाको काठमाडौंस्थित नेपाली सेनाको अस्पतालमा उपचार भइरहेको छ । सेनाका अनुसार उनीहरूको स्वास्थ्य अवस्था सामान्य रहेको छ । तर, आयोजनाको भूमिगत विद्युत् गृहमा अझै ठूलो संख्यामा मानिस फसेको आशंका कायमै छ ।

नेपाल विद्युत् प्राधिकरणका अनुसार त्रिशूली–३ ‘ए’को सुरुङभित्र करिब ४२ जना इन्जिनियर तथा कर्मचारी फसेको अनुमान गरिएको छ । नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र प्राधिकरणका प्राविधिकसहितको टोलीले सुरुङको थप भित्री भागमा प्रवेश गरेर खोजी तथा उद्धार अभियान जारी राखेको छ ।

दुई जनाको जीवित उद्धारपछि भेटिएको शवले सुरुङभित्र फसेका अन्य व्यक्तिको अवस्थाबारे थप चिन्ता बढाएको छ ।