काठमाडौं – भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि रिद्धिसिद्धि सिमेन्ट र सौर्य सिमेन्टले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड १ लाख रुपैयाँ सहयोग गरेका छन्।
भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीबाट भएको ठूलो जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै दुवै कम्पनीले प्रभावित नागरिकको राहत, पुनःस्थापना तथा पुनःनिर्माणमा सहयोग गर्ने उद्देश्यले उक्त रकम प्रदान गरेका हुन्।
रिद्धिसिद्धि सिमेन्टले ५१ लाख रुपैयाँ र सौर्य सिमेन्टले ५० लाख रुपैयाँ गरी कुल १ करोड १ लाख रुपैयाँ सहयोग गरेका छन्। रिद्धिसिद्धि सिमेन्टका अध्यक्ष शोभाकर न्यौपानेले अर्थमन्त्री स्वर्णिम वाग्लेलाई कम्पनी परिवारका तर्फबाट सहयोग रकमको चेक हस्तान्तरण गरेका हुन्।
कम्पनीले विपद्को कठिन समयमा बाढी प्रभावित नागरिकसँगै सरकारको साथमा रहेको जनाएको छ। बाढी प्रभावितलाई राहत, पुनःस्थापना र पुनःनिर्माण गर्नु सबैको दायित्व र जिम्मेवारी भएको भन्दै कम्पनीले सहयोगलाई सोही जिम्मेवारीअन्तर्गतको कदमका रूपमा लिएको जनाएको छ।
साथै, कम्पनीले विपद्को समयमा प्रभावित नागरिकको उद्धार तथा राहतमा खटिएका उद्धारकर्मी, राहतकर्मी, सुरक्षाकर्मी, प्रशासन तथा स्वास्थ्यकर्मीलगायत सबै सहयोगी हातहरूप्रति सम्मान तथा आभार व्यक्त गरेको छ।































































