काठमाडौं – दक्षिण कोरियाका विदेशमन्त्री चोले परराष्ट्रमन्त्री शिशिर खनालसँग भेटवार्ता गरेका छन्।
आइतबार परराष्ट्र मन्त्रालयमा भएको भेटमा भदौ १० गते रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढी, त्यसबाट भएको क्षति तथा उद्धार र खोजी कार्यको पछिल्लो अवस्थाबारे छलफल भएको हो। भोटेकोशी बाढीपछि अपर त्रिशूली–१ जलविद्युत् आयोजनामा कार्यरत नौ जना दक्षिण कोरियाली नागरिक बेपत्ता छन्। उनीहरूको खोजी कार्यबारे विदेशमन्त्री चोले विशेष चासो राख्दै पछिल्लो अवस्थाबारे जानकारी लिएका थिए।
नेपालमा उद्धार तथा खोजी कार्यमा दक्षिण कोरियाको ‘कोरिया डिजास्टर रिलिफ टिम’ समेत परिचालित छ। आवश्यक परे थप प्राविधिक जनशक्ति तथा सहयोग उपलब्ध गराउन दक्षिण कोरिया तयार रहेको विदेशमन्त्री चोले बताएका छन्। परराष्ट्रमन्त्री खनालले बेपत्ता कोरियाली नागरिकको खोजीमा सरकारले कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गर्दै विपद्को कठिन समयमा दक्षिण कोरियाले गरेको सहयोगप्रति धन्यवाद दिएका छन्।
भेटमा कोरियाली पक्षले नेपालमा विपद्पछिको पुनःस्थापना र पुनर्निर्माणमा समेत सहयोग जारी राख्ने प्रतिबद्धता जनाएको छ। नेपालले पनि सुरक्षित तथा दिगो पूर्वाधार निर्माणलाई प्राथमिकता दिँदै ‘बिल्ड ब्याक बेटर’ अवधारणाअनुसार पुनर्निर्माण अघि बढाउने जानकारी दिएको छ। भेटवार्तामा जलवायु परिवर्तनका कारण नेपालजस्ता हिमाली मुलुकले भोगिरहेका विपद् र क्षतिका विषयमा समेत छलफल भएको छ। अन्तर्राष्ट्रिय मञ्चमा जलवायुजन्य विपद्का असर तथा क्षतिका विषयमा संयुक्त रूपमा आवाज उठाउने प्रस्ताव दक्षिण कोरियाली विदेशमन्त्री चोले गरेका छन्।
जलवायु परिवर्तनबाट भएको क्षतिका लागि नेपालले अन्तर्राष्ट्रिय समुदायबाट प्राप्त गर्नुपर्ने वित्तीय सहयोगका विषयमा समेत कोरियाले आवाज उठाउने प्रतिबद्धता जनाएको छ। दक्षिण कोरियाका विदेशमन्त्री चो शनिबार विशेष विमानमार्फत नेपाल आएका हुन्। तीनदिने भ्रमण पूरा गरी उनी सोमबार स्वदेश फर्किने कार्यक्रम छ।
































































