काठमाडौं – नेपाल एसीसी प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ। समूह चरणको तेस्रो खेलमा साउदी अरेबियालाई ५ विकेटले पराजित गर्दै नेपालले एक खेल अगावै अन्तिम चारमा स्थान सुरक्षित गरेको हो।


ADVERTISEMENT


क्वालालम्पुरस्थित बायुमास ओभलमा साउदीले दिएको १९१ रनको लक्ष्य नेपालले ४१ ओभरमा ५ विकेट गुमाएर पूरा गर्‍यो। नेपालको जितमा गुल्शन झाले अविजित ४४ रन बनाए भने कप्तान रोहित पौडेल २४ रनमा नटआउट रहे। त्यसअघि इशान पाण्डेले ४०, देव खनालले ३९, आसिफ शेखले २० र अर्जुन कुमालले १५ रनको योगदान दिए।


ADVERTISEMENT

# # #


साउदीका इस्तियाक अहमद र मोहम्मद आतिफले समान २ तथा मोहम्मद हिशामले १ विकेट लिए। त्यसअघि टस जितेर ब्याटिङ गरेको साउदी अरेबिया ४९.२ ओभरमा १९० रनमा समेटिएको थियो। उसका लागि अब्दुल वाहिदले सर्वाधिक ७७ रन बनाए भने मोहम्मद आतिफले ३० रन जोडे।

नेपालका लागि कप्तान सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरीले समान ३ विकेट लिए। ललित राजवंशीले २ तथा गुल्शन झा र शेर मल्लले १–१ विकेट लिए। योसँगै नेपालले प्रतियोगितामा लगातार तेस्रो जित निकालेको छ। यसअघि नेपालले बहराइन र मलेसियालाई पराजित गरेको थियो। अब नेपालले समूह चरणको अन्तिम खेलमा मंगलबार हङकङसँग प्रतिस्पर्धा गर्नेछ। उक्त खेलपछि समूह ‘ए’ को विजेताको टुंगो लाग्नेछ।