काठमाडौं- नेपाली कांग्रेसका नेता नैनसिंह महरले देशका विभिन्न भूभाग बाढीपहिरोको चपेटामा परिरहेका बेला पार्टीको १५औँ महाधिवेशन केही समय पछि सारेर विपत्तिमा परेका नागरिकको उद्धार तथा राहतमा केन्द्रित हुनुपर्ने बताएका छन् ।
बाढीपहिरो प्रभावित देविघाट, त्रिशूलीलगायतका क्षेत्रमा पुगेर राहत तथा उद्धारको अवस्थाबारे जानकारी लिएर काठमाडौं फर्किएका महरले कांग्रेसका सम्पर्क समितिका सभापतिहरूसँगको छलफलमा यस्तो धारणा राखेका हुन्।
महरका अनुसार अहिले रसुवा, नुवाकोट, धादिङलगायतका जिल्लामा ठूलो जनधनको क्षति भएको छ। कतिपय स्थानमा सडक तथा यातायात अवरुद्ध हुँदा प्रभावित नागरिक थप समस्यामा परेका छन्। यस्तो अवस्थामा पार्टीको प्राथमिकता महाधिवेशनको तयारीभन्दा पीडित नागरिकसम्म राहत पुर्याउनेतर्फ हुनुपर्ने उनले बताएका छन्।
“हजारौँ नागरिक विपत्तिमा परेका छन्। कसैले घर गुमाएका छन्, कसैले आफन्त गुमाएका छन्। यस्तो अवस्थामा कांग्रेसले आफ्नो सम्पूर्ण शक्ति जनताको उद्धार, राहत र पुनःस्थापनामा लगाउनुपर्छ,” महरले भने।
उनले महाधिवेशन अनिश्चितकालका लागि स्थगित गर्नुपर्ने पक्षमा आफू नरहेको स्पष्ट पार्दै दशैँपछि महाधिवेशन गर्ने गरी केही समय मिति सार्न सकिने प्रस्ताव अघि सारेका छन्।
महरले महाधिवेशनको मिति परिवर्तनले पार्टीभित्र देखिएका असन्तुष्टि र दूरी घटाउनसमेत अवसर मिल्ने बताए। उनका अनुसार संवादमार्फत सबै पक्षलाई समेटेर अघि बढ्न सके कांग्रेसलाई थप एकताबद्ध बनाउन सकिन्छ।
“महाधिवेशन व्यक्तिको जित–हारको विषय मात्र होइन, कांग्रेसको भविष्यसँग जोडिएको विषय हो। हतारमा महाधिवेशन गरेर पार्टीभित्रको दूरी बढाउनु भन्दा केही समय लिएर सबैलाई समेट्नु उपयुक्त हुन्छ,” उनले भने।
कांग्रेसभित्रको एकता गुट वा व्यक्तिको स्वार्थका लागि नभई लोकतन्त्र, संविधान र देशको भविष्यका लागि आवश्यक रहेको महरको भनाइ छ।
उनले अहिले कांग्रेसले आन्तरिक प्रतिस्पर्धाभन्दा सहकार्य र जनताको साथलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएका छन्।
विपत्तिमा परेका जनताको साथ, पार्टीभित्र एकताको प्रयास र त्यसपछि महाधिवेशन—अहिले कांग्रेसको प्राथमिकता यही हुनुपर्ने महरको धारणा छ।
महाधिवेशन केही समय सार्ने विषयलाई कमजोरीका रूपमा नभई पार्टीलाई अझ बलियो, एकताबद्ध र जनमुखी बनाउने अवसरका रूपमा लिनुपर्ने उनले बताएका छन्।
































































