काठमाडौं- विपद्‌को ११औं दिन बितिसक्दा पनि कैयौँ नागरिक सुरुङ र भत्किएका संरचनाभित्र जीवन-मरणको दोसाँधमा रहनु राज्यको चरम ढिलासुस्ती र लापरवाहीको पराकाष्ठा भएको नेकपा एमालेका नेता डा. अबुल हुसेन अन्सारीले बताएका छन्।


ADVERTISEMENT


अहोरात्र खटिएका नेपाली सेना र सशस्त्र प्रहरी बलको अथक प्रयासले धेरैको ज्यान जोगिए पनि राज्य संयन्त्र समयमै सक्रिय नहुँदा हजारौँ नागरिकले ज्यान गुमाउनु परेको भन्दै उनले सरकारको आलोचना गरेका हुन्।


ADVERTISEMENT

# # #


गृहमन्त्री सुदन किरातीको जिम्मेवारी संकटको कुशल नेतृत्व गर्नु, नीति निर्माण र कार्यान्वयनको नेतृत्व लिनु, सुरक्षा निकायबीच समन्वय गर्नु तथा राहत र पुनर्स्थापनालाई तीव्रता दिनु रहेको उल्लेख गर्दै डा. अन्सारीले मन्त्रीले सस्तो लोकप्रियता (स्टन्ट) त्याग्नुपर्ने बताएका छन्।

अक्सिजन सिलिन्डर बोकेको नाटक गर्ने र सामाजिक सञ्जालमा काम देखाएर व्यक्तिगत जस लिन खोज्नुभन्दा पीडित नागरिकको प्रभावकारी उद्धार र राहतमा केन्द्रित हुन उनले सरकारलाई आग्रह गरे।

विपद्‌को सुरुवातदेखि नै उद्धारका लागि सुरक्षाकर्मीको संख्या बढाउन र स्रोत-साधन परिचालन गर्न सामाजिक सञ्जालमार्फत खबरदारी गर्दा आफूमाथि जाइलाग्नेहरूलाई लक्षित गर्दै उनले भनेका छन्, ‘त्यो आवाज मेरो व्यक्तिगत आलोचना थिएन, पीडितको जीवन बचाउने पुकार थियो। समयमै सुनिदिएको भए आज धेरै परिवारले आफ्ना आफन्त गुमाउनु पर्ने थिएन।’

जनताले सरकारबाट ‘चटक होइन कमाण्ड, प्रचार होइन परिणाम, आश्वासन होइन काम र व्यक्तिगत जस होइन संस्थागत नेतृत्व’ खोजेको बताउँदै नेता अन्सारीले उद्धारको प्रभावकारिता, सुरक्षा निकायबीचको समन्वय, स्रोत-साधनको समयमै परिचालन र पुनर्स्थापनाको ठोस योजनाका आधारमा मात्रै सरकारको मूल्याङ्कन हुने स्पष्ट पारेका छन्।

नागरिकको ज्यान बचाउने पहिलो दायित्वमा देखिएको अक्षमता अक्षम्य हुने र अब पनि चेत नखुले इतिहासले माफ नगर्ने चेतावनी उनले दिएका छन्।