काठमाडौं- भोटेकोशी बाढीबाट उत्पन्न विपद्पछि नेपाल प्रहरीले उद्धार, खोजी, शव व्यवस्थापन तथा सुरक्षा कार्यलाई तीव्र बनाएको छ। उपलब्ध सीमित स्रोतसाधनको अधिकतम प्रयोग गर्दै प्रहरीले देशका विभिन्न प्रभावित क्षेत्रमा हजारौँ सुरक्षाकर्मी परिचालन गरेको जनाएको छ।
पछिल्लो तथ्याङ्कअनुसार विपद् व्यवस्थापनका लागि ७ हजार ९ सय १२ जना प्रहरी कर्मचारी परिचालन भएका छन् भने बाढी प्रभावित क्षेत्रबाट ६ हजार ८ सय ५३ जनाको उद्धार गरिएको छ। बेपत्ता नागरिकको खोजीका लागि प्रहरी टोलीसँगै तालिमप्राप्त कुकुर र ड्रोन क्यामेरासमेत प्रयोग भइरहेको छ।
नुवाकोटको विदुर नगरपालिका–१० बेत्रावतीस्थित एक घरबाट ड्रोनको सहायतामा २४ वटा शव फेला पारिएको प्रहरीले जनाएको छ। पहिचान हुन नसकेका शव तथा मानव अंगको वैज्ञानिक व्यवस्थापनका लागि फोरेन्सिक विशेषज्ञको सहयोग लिइएको छ भने बेपत्ता व्यक्तिका परिवारलाई सहज बनाउन डीएनए प्रोफाइलिङको प्रक्रियासमेत अघि बढाइएको छ।
बाढी प्रभावित क्षेत्रमा उद्धारसँगै राहत वितरण, स्वास्थ्य उपचार, मनोसामाजिक परामर्श तथा सामुदायिक सचेतना कार्यक्रम सञ्चालन गरिरहेको प्रहरीले विपद्को मौका छोपी हुन सक्ने चोरी, लुटपाट, ठगी तथा सामाजिक सञ्जालमा फैलिने गलत सूचना नियन्त्रणमा समेत निगरानी बढाएको जनाएको छ।
































































