काठमाडौं- प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले भोटेकोशी तथा त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नुवाकोट, रसुवालगायत जिल्लाको स्थलगत अनुगमन तथा अवलोकन गरेका छन्।
अनुगमनका क्रममा उनले प्रभावित क्षेत्रमा नेपाल प्रहरीले सञ्चालन गरिरहेको उद्धार, खोजी, शव व्यवस्थापन, घटनास्थल मुचुल्का तथा राहत वितरण लगायतका कार्यको अवस्थाबारे जानकारी लिएका छन्।
प्रहरी महानिरीक्षक कार्कीले प्रभावित जिल्लाका प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा निकायका प्रतिनिधिसँग छलफल गर्दै उद्धार, खोजी, राहत वितरण तथा समग्र विपद् व्यवस्थापनलाई अझ प्रभावकारी, व्यवस्थित र पारदर्शी रूपमा अघि बढाउन निर्देशन दिएका छन्।
उनले विपद्को कठिन घडीमा राष्ट्र र नागरिकको सेवामा खटिएका प्रहरी कर्मचारीलाई उच्च मनोबलका साथ काम गर्न निर्देशन दिँदै आफ्नो ज्ञान, सीप, विवेक र क्षमताको अधिकतम प्रयोग गरी उद्धार तथा खोजी कार्यमा कुनै कसर बाँकी नराख्न जोड दिएका छन्।
बाढी प्रभावित क्षेत्रमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमाथि हुन सक्ने दुर्व्यवहार तथा हिंसाप्रति थप संवेदनशील हुन निर्देशन दिँदै विपद्को मौका छोपी हुन सक्ने आपराधिक गतिविधि नियन्त्रणमा समेत चनाखो रहन उनले आग्रह गरेका छन्।
राहत वितरणलाई पारदर्शी बनाउन स्थानीय तहसँग आवश्यक समन्वय गरी प्रभावकारी रूपमा कार्य गर्नसमेत प्रहरी कर्मचारीलाई निर्देशन दिइएको छ।
अनुगमनमा नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक अविनारायण काफ्लेसहित वरिष्ठ प्रहरी अधिकृतहरूको सहभागिता रहेको छ।
































































