काठमाडौं – धादिङको बेनीघाट रोराङ गाउँ पालिका ७ पृथ्बी राजमार्गको कृष्णभिरमा भासिएको सडक पूर्ण रुपमा निर्माण हुन अझै केहि समय लाग्ने भएको छ ।
त्रिशुली नदिमा आएको बाढीको कटानका कारण भाद्र १४ गते सडक भासिएपनि कृष्णभीरमा सडक अवरुद्ध भएको छ । उक्त स्थानको साईडवाट भित्ता काटेर सडक निर्माण गर्ने काम भई रहेको छ । काठमाडौं आउने मुख्य राजमार्ग अवरुद्ध भएपछि यात्रुबहाक यातायातका साथै अत्यावश्यक सामाग्रीको ढूवानी प्रभावित भएको छ । उक्त सडकखण्ड छिटो निर्माणको लागि सम्पुर्ण प्राविधिकहरू लागि परेको सडक बिभागका महानिर्देशक विजय जैसीले बताए । उनले जोखिम मोलेरै भए पनि भूगर्भविद् तथा इन्जिनियरहरूको परामर्शमा सडक खुलाउने काम भइरहेको जानकारी दिए । बाढी आउने सम्भावना अझै एक महिना रहने भएकाले पानी पसेर थप क्षति नहोस् भनेर सतर्कता अपनाइएको उनको भनाइ छ ।
महानिर्देशक जैसीले भविष्यमा यस समस्याको स्थायी समाधानका लागि सुरुङमार्ग बनाउने वा पारिपट्टि पुल हालेर सडक लैजाने दुईवटा विकल्पमा प्राविधिक तथा लागत अध्ययन भइरहेको जानकारी दिए ।
उक्त राजमार्गको करीब २ सय मिटर सडक त्रिशुली नदीले कटान गर्दा भासिएको थियो । उक्त सडक खण्डमा भित्ता काटेर सडक बनाउने काम भईरहेको छ । उक्त सडक निर्माणको लागि दुबै तर्फ वाट ५ वटा मेसिन सचालनमा रहेका छन् । उक्त सडक अबरुद्ध हुँदा काठमाण्डौबाट अन्य जिल्ला जाने र अन्य जिल्लावाट काठमाण्डौ आउने सवारी साधनहरूले बैकल्पीक राजमार्गहरू प्रयोग गर्दै आएका छन् ।
































































