काठमाडौं – कुमारी बैंक लिमिटेड वित्तीय संस्थाका ऋण तथा लगानीबाट हुने हरितगृह ग्यास उत्सर्जनको मापन तथा सार्वजनिक खुलासा गर्ने अन्तर्राष्ट्रिय पहलमा आबद्ध भएको छ।
बैंकले ‘कार्बन अकाउन्टिङ फाइनान्सियल्सका लागि साझेदारी’ (पीक्याफ) मा सदस्यता लिएसँगै जिम्मेवार बैंकिङ, जलवायु कार्य तथा आफ्ना वित्तीय गतिविधिबाट हुने हरितगृह ग्यास उत्सर्जनलाई बुझ्ने र व्यवस्थापन गर्ने विषयमा थप पारदर्शिता अपनाउने प्रतिबद्धता जनाएको हो।
पीक्याफको सदस्य बनेसँगै कुमारी बैंकले आफ्ना ऋण तथा लगानीबाट हुने हरितगृह ग्यास उत्सर्जन मापन तथा सार्वजनिक गर्न विश्वव्यापी रूपमा मान्यता प्राप्त मापदण्ड र विधि प्रयोग गर्ने जनाएको छ। यसले बैंकको जलवायु सम्बन्धी तथ्यांक, जोखिम व्यवस्थापन तथा दिगो वित्तसम्बन्धी अभ्यासलाई थप सुदृढ बनाउन सहयोग पुग्ने बैंकको विश्वास छ।
न्यून कार्बन तथा जलवायु उत्थानशील अर्थतन्त्रतर्फको संक्रमणमा वित्तीय क्षेत्रको महत्वपूर्ण भूमिका रहने भन्दै बैंकले आफ्ना लगानी गतिविधिको जलवायु प्रभाव बुझ्ने क्षमता विकास गर्ने जनाएको छ। त्यसबाट प्राप्त तथ्यांक र जानकारीलाई आगामी वित्तीय निर्णय, जोखिम व्यवस्थापन तथा दिगोपनसम्बन्धी योजनामा उपयोग गरिने बैंकले जनाएको छ।
पीक्याफ वित्तीय संस्थाहरूको विश्वव्यापी सहकार्य हो। यसले वित्तीय संस्थाहरूलाई ऋण तथा लगानीमार्फत हुने हरितगृह ग्यास उत्सर्जनको एकरूप रूपमा मूल्यांकन तथा सार्वजनिक खुलासा गर्न साझा ढाँचा उपलब्ध गराउँदै आएको छ।
कुमारी बैंकका दिगो बैंकिङ विभागका प्रमुख अर्पण पौडेलले पीक्याफमा आबद्ध हुनु बैंकको दिगोपन यात्राको महत्वपूर्ण कोशेढुंगा भएको बताए। उनका अनुसार बैंकको वित्तीय गतिविधिसँग सम्बन्धित उत्सर्जनबारे तथ्यांक तथा जानकारी प्राप्त हुँदा जलवायु रणनीति सुदृढ गर्न, पारदर्शिता बढाउन तथा दिगो अर्थतन्त्रतर्फ अघि बढ्न सहयोग पुग्नेछ।
बैंकले आगामी दिनमा दिगो वित्तका अवसर विस्तार गर्ने, आफ्ना सञ्चालन तथा वित्तीय गतिविधिमा वातावरणीय र जलवायु सम्बन्धी पक्षलाई थप एकीकृत गर्ने तथा नेपालको दीर्घकालीन जलवायु र विकास प्राथमिकतामा योगदान पुर्याउन सरोकारवालासँग सहकार्य गर्ने जनाएको छ।
देशभर व्यापक बैंकिङ सञ्जाल रहेको कुमारी बैंकले दिगो वित्तीय पहललाई लक्षित समुदायसम्म विस्तार गर्न आफ्नो स्थापित सञ्जाललाई उपयोग गर्ने जनाएको छ। बैंकका अनुसार देशभर २ सय ७९ शाखा, २ सय ९६ एटीएम, ४१ एक्सटेन्सन काउन्टर, ४० शाखारहित बैंकिङ इकाइ तथा १ हजार २ सय ३३ एटीएम टर्मिनल सञ्चालनमा छन्। बैंकले डिजिटल बैंकिङ तथा मोबाइल बैंकिङ सेवासमेत उपलब्ध गराउँदै आएको छ।
ग्राहककेन्द्रित नवप्रवर्तन, जिम्मेवार बैंकिङ तथा दिगो वित्तमा केन्द्रित हुँदै कुमारी बैंकले नेपालको दीर्घकालीन आर्थिक रूपान्तरणमा आफ्नो भूमिका सुदृढ गर्दै आएको जनाएको छ।
पीक्याफ सन् २०१९ को सेप्टेम्बरमा विश्वव्यापी रूपमा स्थापना भएको पहल हो। हाल ७ सयभन्दा बढी वित्तीय संस्था यसमा आबद्ध भइसकेका छन्। सहभागी वित्तीय संस्थाहरूले संयुक्त रूपमा वित्तीय क्षेत्रका लागि विश्वव्यापी हरितगृह ग्यास लेखांकन तथा प्रतिवेदनसम्बन्धी मापदण्ड विकास र कार्यान्वयन गर्दै आफ्ना ऋण तथा लगानीबाट हुने उत्सर्जनको मापन तथा खुलासा गर्दै आएका छन्।
































































