काठमाडौं – सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले भोटेकोशी बाढीबाट प्रभावित नागरिकको उद्धार, उपचार तथा राहतका लागि २ करोड २२ लाख २२ हजार २ सय २२ रुपैयाँ सहयोग गरेको छ ।


ADVERTISEMENT


बैंकले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा जम्मा गरेको हो । अर्थ मन्त्रालय, सिंहदरबारमा आयोजित कार्यक्रममा बैंकका अध्यक्ष प्रबलजंग पाण्डेले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई सहयोग रकम हस्तान्तरण गरेका हुन् । कार्यक्रममा बैंकका सञ्चालक समिति सदस्य दिग्विजय विष्ट र प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलको समेत उपस्थिति थियो ।


ADVERTISEMENT

# # #


बैंकले भोटेकोशी बाढीमा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै पीडित परिवारमा समवेदना तथा घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ । बाढीबाट प्रभावित नागरिकलाई राहत पुर्‍याउने उद्देश्यले सहयोग गरिएको बैंकले जनाएको छ ।

यसअघि पनि बैंकले बाढीबाट प्रभावित नुवाकोटको विदुर नगरपालिका–५, देवीघाट क्षेत्रमा खाद्यान्न सामग्री वितरण गरेको थियो । बैंकको देवीघाट शाखा कार्यालयसमेत बाढीका कारण पूर्ण रूपमा क्षतिग्रस्त भएको जनाएको छ । बैंकले चामल, दाल, पिठो, बिस्कुट, तेल, नुन, सोयाबिन, आलु र चाउचाउलगायत सामग्री सहयोग गरेको हो ।

बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत स्वास्थ्य, शिक्षा, सामुदायिक विद्यालय, वृद्धाश्रम तथा अनाथालयलगायत क्षेत्रमा सहयोग गर्दै आएको जनाएको छ । साथै, आगामी दिनमा पनि सामाजिक उत्तरदायित्वअन्तर्गतका सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ ।

सिटिजन्स बैंकले हाल देशभर ६१ जिल्लामा २ सय शाखा, १ सय ६९ एटीएम, ३ विस्तारित काउन्टर र ४२ शाखारहित बैंकिङ इकाइमार्फत २० लाख ६० हजारभन्दा बढी ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आएको जनाएको छ ।