काठमाडौं- एक्स्ट्रिम इनर्जी ड्रिङ्क नेपाल भलिबल लिग (एनभीएल) को पहिलो दिनको टिकट बिक्रीबाट संकलित ५ लाख ९० हजार १ सय ५० रुपैयाँ बाढीपीडितको सहयोगार्थ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको छ ।
केडिया ग्रुपको आयोजनामा भइरहेको एनभीएल सुरु हुनुअघि नै आयोजकले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावितहरूको उद्धार, उपचार तथा पुनःस्थापनाका लागि सहयोग गर्ने प्रतिबद्धता जनाएको थियो । सोही प्रतिबद्धताअनुसार पहिलो दिनको टिकट बिक्रीबाट प्राप्त सम्पूर्ण रकम कोषमा जम्मा गरिएको हो ।
केडिया ग्रुपका अध्यक्ष विमलकुमार केडियाले उक्त रकम बराबरको चेक अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई सिंहदरबारमा हस्तान्तरण गरेका छन् ।
चेक हस्तान्तरण कार्यक्रममा एनभीएलका प्रबन्ध निर्देशक अश्विन केडिया, नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्रबहादुर चन्द, एनभीएलका प्रमुख कार्यकारी अधिकृत डा. सन्तोष उपाध्याय तथा सीओओ विकास खेतान लगायतको उपस्थिति थियो ।
बाढीपीडितको सहयोगका लागि गरिएको अभियानमा एनभीएलमा सहभागी ६ फ्रेन्चाइज टोली सगरमाथा स्काइमार्स, कर्णाली शिवराज, मधेश वारियर्स, खप्तड फाल्कन्स, काठमाडौं रेड्स र अन्नपूर्ण स्पाइकर्ससहित दर्शक तथा शुभेच्छुकप्रति आयोजकले धन्यवाद व्यक्त गरेको छ ।
































































