काठमाडौं- जेनजी आन्दोलनको एक वर्ष पूरा भएको अवसरमा प्रधानमन्त्री बालेन शाहले जेनजी पुस्तालाई सम्बोधन गर्दै सुशासन कायम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
जेनजी शहीद दिवसका अवसरमा मंगलबार साँझ प्रधानमन्त्री शाहले सामाजिक सञ्जालमार्फत छोटो सन्देश सार्वजनिक गर्दै ‘प्रिय जेनजी, सुशासन कायम हुने नै छ’ भनेका छन् । साथै उनले आन्दोलनका क्रममा ज्यान गुमाएका शहीदहरूप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् ।
प्रधानमन्त्री शाहको यो सन्देश जेनजी आन्दोलनले उठाएका सुशासन, पारदर्शिता, भ्रष्टाचार नियन्त्रण र जवाफदेहिताका मुद्दासँग जोडिएको छ । आन्दोलनको एक वर्ष पूरा हुँदा सरकारले पहिलोपटक जेनजी शहीद दिवस मनाउँदैछ । सरकारले आज सार्वजनिक बिदासमेत दिएको छ ।
एक वर्षअघि सामाजिक सञ्जालमाथिको प्रतिबन्धविरुद्ध सुरु भएको जेनजी आन्दोलन क्रमशः भ्रष्टाचार, कुशासन, बेरोजगारी, राजनीतिक जवाफदेहिता र सार्वजनिक सेवा सुधारको मागसहितको व्यापक आन्दोलनमा परिणत भएको थियो । आन्दोलनले नेपालको राजनीतिक घटनाक्रममा ठूलो परिवर्तन ल्याएको थियो ।
प्रधानमन्त्री शाह नेतृत्वको वर्तमान सरकारले पनि जेनजी आन्दोलनले उठाएका मुद्दालाई आफ्नो प्राथमिकतामा राखेको दाबी गर्दै आएको छ । सरकारले प्रशासनिक सुधार, डिजिटल सेवा विस्तार, सार्वजनिक सेवा सहज बनाउने र भ्रष्टाचार नियन्त्रणलाई जोड दिएको छ ।
जेनजी शहीद दिवसका अवसरमा प्रधानमन्त्रीको सन्देशले अब आन्दोलनका क्रममा उठाइएका मागलाई व्यवहारमा कार्यान्वयन गर्ने चुनौती सरकारसामु रहेको संकेत गरेको छ ।
‘सुशासन कायम हुने नै छ’—बालेनको यो प्रतिबद्धता अब भाषणमा मात्र सीमित रहन्छ कि नागरिकले व्यवहारमै परिवर्तन महसुस गर्नेछन् भन्ने चासो बढेको छ ।
































































