काठमाडौं – नेकपा एमालेका सचिव महेश बस्नेतले संयुक्त राष्ट्रसंघको कार्यक्रमबाट फर्के लगतै राजीनामा दिन प्रधानमन्त्री बालेन्द्र शाहलाई चेतवनी दिएका छन् ।
गत बर्ष भाद्र २४ गते भएको आगजनी बिरुद्ध बुधबार आफ्नै निवास भक्तपुरमा विरोध कार्यक्रमको आयोजना गर्दै बस्नेतले वर्तमान सरकार रहेसम्म देशको हित नहुने भन्दै संयुक्त राष्ट्रसंघको कार्यक्रमबाट फर्किएलगत्तै राजीनामा दिन चेतावनी दिए ।
राजीनामा नआएमा २३–२४ गतेको घटनाजस्तै जनताको आक्रोश उर्लिने र संसद् पुनःस्थापनालगायतका मागसहित जेन–जी तथा विभिन्न समूहलाई समेटेर सशक्त आन्दोलन चर्काउने उनले बताए ।
उनले जेनजी आन्दोलनमा ६ जना प्रहरीको हत्या गरिएको उल्लेख गर्दै दोषीमाथि कडा कानुनी कारबाही हुनुपर्ने माग गरे । उनले लुटपाटमा मृत्यु भएकाका परिवार पीडित भएकाले क्षतिपूर्ति दिनुपर्ने तर उनीहरुलाई सहिद घोषणा गर्ने कदमको कडा विरोध गरे ।
सिंहदरबार, संसद् भवन जलाउने र गोली चलाउने काम एउटै समूहले गरेको उनले बताए । उनले राहत कोषमा सरकारले १२ अर्ब कब्जा गरेकाले एमालेले आफ्ना कार्यकर्ताको गाँस कटाएर उठाएको १ करोड २० लाख रुपैयाँ सीधै बाढी पीडितलाई वितरण गरिएको धारणा राखे । स्थानीय तहले जग्गा उपलब्ध गराएमा नेकपा (एमाले) ले पीडितहरूका लागि ५०० वटा अस्थायी बासस्थान÷घर निर्माण गरिदिने उनको भनाइ छ ।
































































