काठमाडौं – भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण यही भदौ १० गते रसुवा जिल्लाका विभिन्न क्षेत्रमा दूरसञ्चार तथा इन्टरनेट पूर्वाधारमा ठूलो क्षति पुगेपछि प्रभावित क्षेत्रमा सञ्चार तथा सूचना आदान–प्रदानलाई निरन्तरता दिन डिश मिडिया नेटवर्क लिमिटेड (डिशहोम) ले विशेष पहल अघि बढाएको छ।


ADVERTISEMENT


नेपाल दूरसञ्चार प्राधिकरणको स्वीकृति तथा समन्वयमा डिशहोमले युटेलस्याट वनवेबसँगको सहकार्यमा बाढीबाट सबैभन्दा बढी प्रभावित क्षेत्रमा निःशुल्क स्याटेलाइट इन्टरनेट सेवा सञ्चालनमा ल्याएको हो। उक्त सेवा २०८३ भदौ २० गतेदेखि प्राथमिकताका आधारमा उपलब्ध गराउन थालिएको छ।


ADVERTISEMENT

# # #


प्राकृतिक विपद्का समयमा भरपर्दो सञ्चार सेवा उद्धार, राहत तथा समन्वयका लागि अत्यावश्यक हुने भएकाले यस पहलअन्तर्गत हाल प्रभावित क्षेत्रमा रहेका सरकारी कार्यालय, सुरक्षा निकाय, उद्धार तथा राहत शिविर र महत्वपूर्ण समन्वय केन्द्रहरूमा निःशुल्क स्याटेलाइट इन्टरनेट सेवा उपलब्ध गराइएको छ।

युटेलस्याट वनवेबको निम्न–पृथ्वी कक्ष (एलईओ) स्याटेलाइट प्रविधिमार्फत उपलब्ध गराइएको यो वैकल्पिक सञ्चार सेवाले बाढीका कारण क्षतिग्रस्त स्थलीय दूरसञ्चार तथा इन्टरनेट पूर्वाधारको विकल्पका रूपमा काम गर्नेछ। यसबाट सरकारी निकाय, सुरक्षा निकाय, स्थानीय प्रशासन, उद्धारकर्मी तथा मानवीय सहायता एवं राहत कार्यमा संलग्न विभिन्न सरोकारवालाबीच सूचना आदान–प्रदान, वास्तविक समयको समन्वय तथा आवश्यक तथ्याङ्क प्रवाहलाई निरन्तरता दिन सहयोग पुग्नेछ।

प्राकृतिक विपद्का कारण परम्परागत दूरसञ्चार तथा इन्टरनेट सेवा अवरुद्ध हुँदा भरपर्दो वैकल्पिक सञ्चार माध्यम उपलब्ध गराउनु आफ्नो प्रमुख प्राथमिकता रहेको डिशहोमले जनाएको छ। यस्तो कठिन परिस्थितिमा सरकारी निकाय, सुरक्षा तथा उद्धारकर्मी र प्रभावित समुदायलाई आवश्यक सञ्चार सुविधा उपलब्ध गराउन डिशहोम प्रतिबद्ध रहेको जनाएको छ।

विपद् व्यवस्थापन तथा पुनःस्थापनाको यस महत्वपूर्ण समयमा आवश्यकता अनुसार आफ्नो सेवा र स्रोत परिचालन गर्दै जाने डिशहोमले जनाएको छ। डिशहोमले नेपाल दूरसञ्चार प्राधिकरण, सरकारी निकाय, सुरक्षा निकाय तथा स्थानीय सरोकारवालासँग निरन्तर समन्वय गर्दै प्रभावित क्षेत्रमा कनेक्टिभिटीको आवश्यकता तथा प्राथमिकताको मूल्याङ्कन गर्नेछ।

सञ्चार तथा इन्टरनेट पूर्वाधार पूर्ण रूपमा मर्मत तथा पुनःस्थापना नभएसम्म आवश्यकताका आधारमा उच्च प्राथमिकतामा रहेका थप स्थानहरूमा स्याटेलाइट इन्टरनेट सेवा विस्तार गर्दै जाने प्रतिबद्धता डिशहोमले जनाएको छ।

यस पहलमार्फत डिशहोम र युटेलस्याट वनवेबले विपद्का समयमा प्रविधिको प्रभावकारी उपयोग गर्दै आपत्कालीन सञ्चार, उद्धार तथा राहत कार्य र समुदायको आपत्कालीन प्रतिरोधात्मक क्षमता सुदृढ गर्न योगदान पुर्‍याउने प्रतिबद्धता पुनः व्यक्त गरेका छन्।