झापा – निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) झापाले ६०औँ अन्तराष्ट्रिय साक्षरता दिवसको अवसरमा आयोजना गरेको जिल्ला स्तरीय अतिरिक्त क्रियाकलाप सम्पन्न गरेको छ।


ADVERTISEMENT


‘मानव, पृथ्वी र समृद्धिका लागि साक्षरता’ भन्ने नारासहित शिवसताक्षी नगरपालिका–स्थित वाटर किङडम रिसोर्ट, झिलझिलेमा जिल्ला स्तरीय प्रतियोगिता आयोजना गरिएको हो। प्रतियोगिता प्याब्सन झापाका अध्यक्ष छत्रबहादुर कार्कीको अध्यक्षता तथा शिवसताक्षी नगरपालिकाका प्रमुख मेगाहाङ थोप्रा (रोशन) को प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो।


ADVERTISEMENT

# # #


कार्यक्रममा प्याब्सन झापाका वरिष्ठ उपाध्यक्ष हरिकृष्ण पाठकले स्वागत गरेका थिए। प्याब्सन कोशी प्रदेशका उपाध्यक्ष इशुभ पाण्डे, प्रदेश सचिव गौरीमान फागो, प्रदेश सदस्य ध्रुव गौतम, जिल्ला सल्लाहकार प्रभुकुमार श्रेष्ठ, प्राज्ञिक सल्लाहकार जनार्दन ढकाल, पूर्व प्रदेश सदस्य अजय आले मगरलगायतको आतिथ्य रहेको थियो।

त्यस्तै एन प्याब्सन झापाका अध्यक्ष प्रेम लिम्बू, इष्टु झापाका अध्यक्ष होमराज खतिवडा, नेल्टा झापाका अध्यक्ष प्रकाश पराजुली तथा हिसान झापाका कार्यवाहक अध्यक्ष उत्तम खनाललगायत सहभागी थिए।

प्याब्सन झापाले शैक्षिक सत्र २०८३ का लागि शैक्षिक सत्र २०८२ मै शैक्षिक क्यालेन्डर प्रकाशन गरी अतिरिक्त क्रियाकलाप सञ्चालन गर्ने निर्णय गरेको थियो। सोही क्यालेन्डरअनुसार भदौ १३ गतेदेखि पालिका स्तरबाट सुरु भएको अतिरिक्त क्रियाकलाप जिल्ला स्तरीय प्रतियोगितासँगै समापन गरिएको प्याब्सन झापाले जनाएको छ।

जिल्लाभर ११ वटा विभिन्न विधामा सञ्चालन गरिएको प्रतियोगितामा ६ हजारभन्दा बढी विद्यार्थी सहभागी भएका थिए। त्यसअन्तर्गत कक्षा ६ देखि ८ सम्म हाजिरीजवाफ तथा कक्षा ९ र १० का लागि नेपाली र अंग्रेजी विषयमा आकस्मिक वक्तृत्वकला प्रतियोगिता सञ्चालन गरिएको थियो।

प्याब्सन झापाका सचिव लक्ष्मीप्रसाद उप्रेतीका अनुसार आकस्मिक वक्तृत्वकलामा सहभागी विद्यार्थीलाई विषय छनोटका लागि पाँच मिनेटको समय दिइएको थियो। विषय छनोट गरेको पाँच मिनेटपछि विद्यार्थीलाई तत्कालै वक्तृत्वकलामा सहभागी गराइएको थियो। यसले विद्यार्थीको उत्साह र प्रस्तुतिकरण क्षमता परीक्षण गर्न सहयोग पुगेको उनले बताए।

यस वर्ष हाजिरीजवाफ प्रतियोगिताको मोडालिटीसमेत परिवर्तन गरी डिजिटल प्रविधिको प्रयोग गरिएको थियो। प्रतियोगितामा १५ विद्यालय सहभागी भएका थिए। पहिलो चरणमा सहभागी विद्यार्थीलाई ३० वटा बहुवैकल्पिक प्रश्न सोधिएको थियो। पहिलो चरणबाट सात विद्यालयलाई फाइनल चरणमा छनोट गरिएको थियो। हाजिरीजवाफमा चारवटा राउन्ड सञ्चालन गरिएको थियो।

जिल्ला स्तरीय हाजिरीजवाफ प्रतियोगितामा १५ विद्यालयका ३० विद्यार्थी सहभागी भएका थिए। नेपाली आकस्मिक वक्तृत्वकलामा १५ विद्यालयका १५ विद्यार्थी तथा अंग्रेजी आकस्मिक वक्तृत्वकलामा १४ पालिकाका १४ विद्यार्थी सहभागी भएका थिए। हाजिरीजवाफ र दुवै भाषाका आकस्मिक वक्तृत्वकलामा गरी जिल्ला स्तरीय प्रतियोगितामा ५९ विद्यार्थी सहभागी भएका थिए।

एरा एभरग्रिन अंग्रेजी माध्यमिक विद्यालय, बुद्धशान्ति प्रथम भएको छ। विद्यालयका सौगात कार्की र युसु नेपाल प्रथम भएका हुन्।

गोलधाप सनसाइन अंग्रेजी माध्यमिक विद्यालय, हल्दिबारी द्वितीय तथा सेन्ट पल्स एकाडेमी, मेचीनगर तृतीय भएका छन्। द्वितीय हुने विद्यालयबाट भूमिका दाहाल र प्रविन किस्कु तथा तृतीय हुने विद्यालयबाट नम्रता आले मगर र क्रिस्टिना आचार्य सहभागी थिए।

नेपाली आकस्मिक वक्तृत्वकला (कक्षा ९–१०)

गोलधाप सनसाइन अंग्रेजी माध्यमिक विद्यालय, हल्दिबारीकी दिया पौडेल प्रथम भएकी छन्। चन्द्रज्योति अंग्रेजी माध्यमिक विद्यालयका निरज पाठक द्वितीय तथा नमुना अंग्रेजी माध्यमिक विद्यालय, गौरादहकी अर्पणा सिटौला तृतीय भएकी छन्।

अंग्रेजी आकस्मिक वक्तृत्वकला (कक्षा ९–१०)

सेभेन सिज अंग्रेजी माध्यमिक विद्यालय, शिवसताक्षीकी आस्था लिम्ब प्रथम भएकी छन्। जयपुर अंग्रेजी माध्यमिक विद्यालय, बुद्धशान्तिका प्रज्ञान रिजाउल द्वितीय तथा जसोदा अंग्रेजी माध्यमिक विद्यालय, हल्दिबारीकी श्रेयासा श्रेष्ठ तृतीय भएकी छन्।

सहभागी सबै विद्यार्थीलाई सान्त्वना पुरस्कार प्रदान गरिएको थियो भने विधागत रूपमा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने विद्यार्थीलाई मेडल, ट्रफी तथा प्रमाणपत्रसहित पुरस्कृत एवं प्रशंसित गरिएको थियो।

प्रतियोगिताको निर्णायकमा अंग्रेजी विषयतर्फ टीका सुवेदी र गायत्री न्यौपाने तथा नेपाली विषयतर्फ सूर्यप्रसाद अधिकारी र खगेन्द्र न्यौपाने रहेका थिए।

प्याब्सन झापाले अतिरिक्त क्रियाकलापलाई शैक्षिक सिकाइको अभिन्न पक्षका रूपमा अघि बढाउँदै विद्यार्थीको ज्ञान, सिर्जनशीलता, प्रस्तुतीकरण क्षमता तथा प्रतिस्पर्धात्मक भावनाको विकासमा केन्द्रित कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ।