काठमाडौं- स्थानीय व्यापार तथा आर्थिक गतिविधिलाई चलायमान बनाउने उद्देश्यले विराटनगरमा ‘विराट ट्रेड फेयर २०८३’ आयोजना हुने भएको छ।


ADVERTISEMENT


विराट व्यापार संघको आयोजनामा भदौ २२ गतेदेखि ३० गतेसम्म विराटनगरको जैन भवनमा ट्रेड फेयर सञ्चालन गर्न लागिएको हो। ‘चाडपर्वको उत्सव, व्यापारको महोत्सव’ भन्ने नारासहित आयोजना हुन लागेको मेलाले चाडपर्वका बेला सीमावर्ती बजारतर्फ जाने उपभोक्ताको प्रवृत्ति घटाउँदै स्थानीय बजारलाई चलायमान बनाउन सहयोग पुग्ने आयोजकको विश्वास छ।


ADVERTISEMENT

# # #


विराट व्यापार संघका अध्यक्ष प्रमोद जिन्दलले आर्थिक गतिविधिलाई चलायमान बनाउन तथा चाडपर्व लक्षित सेवा र वस्तुको बिक्री प्रवर्द्धन गर्न ट्रेड फेयर उपयोगी हुने बताए। मेलाले स्थानीय व्यापारको विस्तारमा समेत सहयोग पुग्ने उनको भनाइ छ।

नौ दिनसम्म सञ्चालन हुने मेलामा खाद्यान्न, लत्ताकपडा, जुत्ताचप्पल, हार्डवेयर, अटोमोबाइल, फर्निचर, घरायसी सामग्री, बैंक तथा वित्तीय संस्थाका सेवासहित करिब १ सय वटा स्टल राखिने आयोजकले जनाएको छ।

करिब ७० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको ट्रेड फेयरमा १ लाखभन्दा बढी दर्शकले अवलोकन गर्ने अपेक्षा गरिएको छ। मेलामा नेपालसँगै भारत, बंगलादेश र पाकिस्तानमा उत्पादित वस्तुहरू समेत राखिने बताइएको छ।