काठमाडौं- रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारको सहयोगका लागि कतारमा रहेका नेपालीहरूले ११ लाखभन्दा बढी रुपैयाँ सहयोग गरेका छन्।
क्याम्पमा रहेका नेपालीहरूले आफ्नो क्षमताअनुसार रकम संकलन गरेका थिए। कुल २७ हजार कतारी रियाल बराबरको रकम संकलन गरी नेपाल सरकारको राहत कोषमा पठाइएको सहयोगीमध्येका दुर्गा प्रसाद चापागाईंले जानकारी दिएका छन्।
बाढीका कारण रसुवाका विभिन्न क्षेत्रमा ठूलो जनधनको क्षति भएपछि विदेशमा रहे पनि पीडित नेपालीहरूको दुःखमा साथ दिन सहयोग संकलन गरिएको चापागाईंले बताए। उनका अनुसार यो कुनै एक व्यक्तिको नभई बलदिया–५२ क्याम्पमा रहेका नेपालीहरूको सामूहिक सहयोग हो।
रकम संकलन गरेर पठाउनेहरुमा मोहम्मद जमालुद्दिन खान, सरोज यादव, बिमल तिम्सिना, दुर्गा चापागाईं, कौनेन मन्सुर, नाजम खान, दिनेश सहयोगकर्ताहरूले विपत्तिमा परेका नेपाली नागरिकलाई केही राहत पुगोस् भन्ने उद्देश्यले आफूहरूले सहयोग गरेको बताएका छन्।
साथै, अभियानमा साथ दिने सम्पूर्ण नेपालीप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि विपद्का बेला सहयोग र मानवीय एकता कायम राख्ने प्रतिबद्धता जनाएका छन्।


































































