काठमाडौं- ललितपुरको महालक्ष्मी नगरपालिका–७ चाँगाथलीमा निःशुल्क ग्यास्ट्रो तथा कलेजोसम्बन्धी स्वास्थ्य शिविर सञ्चालन गरिएको छ। महालक्ष्मी नगरपालिका–७ को आयोजनामा तथा टिकाथली स्वास्थ्य चौकीको समन्वयमा शनिबार शिविर आयोजना गरिएको हो।
शिविरमा ग्यास्ट्रो तथा कलेजोसँग सम्बन्धित स्वास्थ्य समस्या भएका स्थानीयवासीको स्वास्थ्य परीक्षणसँगै विशेषज्ञ चिकित्सकबाट आवश्यक स्वास्थ्य परामर्श प्रदान गरिएको थियो। शिविरमा नेसनल ग्यास्ट्रो लिभर सेन्टर प्रालिले प्राविधिक सहयोग गरेको थियो।
स्थानीय नागरिकलाई आफ्नै क्षेत्रमा विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले शिविर आयोजना गरिएको वडा अध्यक्ष बाबुराजा महर्जनले बताएका छन्। उनले नागरिकको स्वास्थ्यलाई प्राथमिकतामा राख्दै आगामी दिनमा पनि स्थानीयको आवश्यकता र मागअनुसार स्वास्थ्यसम्बन्धी कार्यक्रमलाई निरन्तरता दिइने बताएका छन्।
शिविरले ग्यास्ट्रो तथा कलेजोसँग सम्बन्धित समस्या भएका स्थानीयलाई सहज रूपमा विशेषज्ञ स्वास्थ्य सेवा र परामर्श प्राप्त गर्ने अवसर प्रदान गरेको आयोजकले जनाएको छ।
































































