काठमाडौं- काठमाडौं उपत्यकाको पानी बाहिरिने बाटो एउटै ठाउँमा सीमित रहनु भविष्यका लागि जोखिमपूर्ण हुनसक्ने भन्दै वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले नयाँ विकल्पबारे सोच्न आग्रह गरेका छन्।
काठमाडौंका विभिन्न भूभागबाट बगेर आउने पानी अन्ततः चोभारको निकास हुँदै बाहिरिने भएकाले उक्त क्षेत्रमा कुनै अवरोध सिर्जना भए त्यसको असर पूरै उपत्यकामा पर्न सक्ने उनको भनाइ छ।
आइतबार काठमाडौं महानगर प्रहरी बलको ३४औँ वार्षिकोत्सवमा बोल्दै श्रेष्ठले काठमाडौंको बढ्दो जनसंख्या र तीव्र सहरीकरणसँगै पानी व्यवस्थापनलाई पनि गम्भीर रूपमा लिनुपर्ने बताए।
उनले चोभारलाई काठमाडौंको पानी बाहिरिने ‘एक मात्र ढोका’ बनाएर राख्न नहुने धारणा राख्दै वैकल्पिक निकासका रूपमा सुरुङ निर्माणको सम्भावनाबारे अध्ययन गर्न महानगरपालिकालाई सुझाव दिए।
श्रेष्ठका अनुसार अहिले तत्काल ठूलो समस्या नदेखिए पनि प्राकृतिक विपद्का बेला चोभारको निकासमा क्षति वा अवरोध आए काठमाडौंमा ठूलो संकट उत्पन्न हुन सक्छ।
त्यसैले समस्या आएपछि उद्धार र राहतमा जुट्नुभन्दा समस्या आउनै नदिने पूर्वतयारीमा लगानी गर्नुपर्ने उनको जोड छ।
उनले काठमाडौं उपत्यकाको पानी व्यवस्थापनलाई दीर्घकालीन योजनासँग जोडेर हेर्नुपर्ने भन्दै चोभारको निकास क्षमता, वैकल्पिक मार्ग र सुरुङ निर्माणको सम्भावनाबारे प्राविधिक अध्ययन गर्नुपर्ने बताए।
‘काठमाडौंको पानी जाने बाटो अहिले एउटै ठाउँमा केन्द्रित छ। भोलि त्यही ठाउँमा समस्या आयो भने अवस्था भयावह हुन सक्छ,’ श्रेष्ठले भने, ‘त्यसैले विपद् कुर्नुभन्दा अहिले नै अर्को निकासको विकल्पबारे सोच्नुपर्छ।’
































































