काठमाडौँ – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टी विभाजनको अवस्थामा हुने महाधिवेशन आफूलाई स्वीकार्य नहुने बताएका छन् । संस्थापन र इतर समूहले छुट्टाछुट्टै महाधिवेशनको तयारी गरिरहेका बेला कोइरालाले पार्टी एकता कायम गरेर मात्रै महाधिवेशनमा जानुपर्ने धारणा राखेका हुन् ।
नेता–कार्यकर्तासँगको भेटमा कोइरालाले कांग्रेस दुई भागमा विभाजित भएर महाधिवेशनमा सहभागी हुनु पार्टीकै लागि आत्मघाती हुने बताएका छन् । पार्टीको विवाद अदालतसम्म पुगेको र कांग्रेस कमजोर अवस्थामा रहेको भन्दै उनले यस्तो समयमा आन्तरिक विवादलाई प्राथमिकता दिन नहुनेमा जोड दिएका छन् ।
कोइरालाले एकताको महाधिवेशन नहुँदासम्म संस्थापन वा इतर, कुनै पनि पक्षको महाधिवेशनमा सहभागी नहुने स्पष्ट पारेका छन् । पार्टीलाई फुटाएर वा एक पक्षले अर्को पक्षलाई निषेध गरेर अघि बढ्न नसकिने उनको भनाइ छ ।
एकताको महाधिवेशनको वातावरण नबने देशभर पुगेर पार्टी एकताको अभियान सञ्चालन गर्ने तयारीमा समेत कोइराला रहेको बताइएको छ । उनका अनुसार अहिले कांग्रेसलाई गुटगत प्रतिस्पर्धाभन्दा एकताबद्ध बनाएर जनतामाझ लैजानुपर्ने आवश्यकता छ ।
कांग्रेसभित्र महाधिवेशनको विषयलाई लिएर विवाद बढिरहेका बेला कोइरालाको पछिल्लो अडानले पार्टीभित्रको शक्ति संघर्षलाई थप नयाँ मोड दिएको छ ।
































































