काठमाडौं – बडादशैँ नजिकिएसँगै सर्वसाधारणलाई नेपाल राष्ट्र बैंकले राहत दिने भएको छ। अब बैंक तथा वित्तीय संस्थाका एटीएमबाटै १ सय रुपैयाँ दरका नोट निकाल्न सकिने व्यवस्था मिलाइने भएको हो।
चाडपर्वको समयमा साना दरका नोटको माग अत्यधिक बढ्ने र नोट साट्न बैंकका शाखा तथा काउन्टरमा लामो लाइन लाग्ने समस्या समाधान गर्न राष्ट्र बैंकले यस्तो व्यवस्था गर्न लागेको हो।
राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले नेपाल बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स एसोसिएसन र नेपाल वित्त कम्पनी संघलाई पत्राचार गर्दै मातहतका बैंक तथा वित्तीय संस्थाका एटीएमबाट १ सय रुपैयाँ दरका नोटसमेत वितरण गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको छ।
राष्ट्र बैंकका सहायक प्रवक्ता सुधा शाहका अनुसार चाडपर्वका बेला सर्वसाधारणलाई सहज रूपमा साना दरका नोट उपलब्ध गराउने उद्देश्यले एटीएमबाटै सय रुपैयाँका नोट वितरण गर्ने व्यवस्था गर्न निर्देशन दिइएको हो।
यसअघि अधिकांश बैंकका एटीएमबाट मुख्यतः ५ सय र १ हजार रुपैयाँका नोट मात्रै निकाल्न सकिन्थ्यो। त्यसका कारण १ सय रुपैयाँजस्ता साना दरका नोट आवश्यक पर्दा सर्वसाधारण बैंकको काउन्टरमै पुग्नुपर्ने अवस्था थियो।
अब नयाँ व्यवस्था कार्यान्वयनमा आएपछि दशैँमा दक्षिणा, पूजाआजा तथा दैनिक कारोबारका लागि आवश्यक पर्ने साना दरका नोट लिन बैंकमा घण्टौँ लाइन बस्नुपर्ने बाध्यता कम हुने अपेक्षा गरिएको छ।
































































