काठमाडौं – न्यायपरिषद्ले उच्च अदालतका लागि तीनजना न्यायाधीशको नाम सिफारिस गरेको छ।
परिषद्को बैठकले सर्वोच्च अदालतका रजिष्ट्रार भद्रकाली पोखरेल, जिल्ला अदालत कास्कीका न्यायाधीश हिमलाल बेल्बासे र फैसला कार्यान्वयन निर्देशनालयका महानिर्देशक गजेन्द्रबहादुर सिंहलाई उच्च अदालतको न्यायाधीशमा सिफारिस गरेको हो।
सिफारिसअनुसार पोखरेललाई उच्च अदालत सुर्खेत, बेल्बासेलाई उच्च अदालत जनकपुर र सिंहलाई उच्च अदालत विराटनगरमा पदस्थापन गर्न प्रस्ताव गरिएको छ।
यसैगरी न्यायपरिषद्ले तीनजना सहसचिवलाई सचिवमा बढुवा गर्ने निर्णयसमेत गरेको छ। ठगीन्द्र कट्टेल, रामप्रसाद भट्टराई र बाबुराम दाहाल सचिवमा बढुवा भएका हुन्।
बढुवापछि कट्टेल र दाहाललाई सर्वोच्च अदालतको रजिष्ट्रार तथा भट्टराईलाई न्यायपरिषद्को सचिवको जिम्मेवारी दिने निर्णय भएको छ।
































































