काठमाडौं – छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालको आईसीयूमै पुगेर अन्तर्वार्ता गरेको विषय संसद्मा उठेको छ।
सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद समीक्षा बास्कोटाले यो विषय अति गम्भीर विषय रहेको बताइन् । आईसीयू अस्पतालको अत्यन्त संवेदनशील र जटिल अवस्थामा रहेका बिरामीहरूको उपचारका लागि छुट्याइएको विषय कक्ष हो । यस्तो कक्षमा बिरामीको स्वास्थ्य, गोपनियता र संक्रमण नियन्त्रणलाई प्राथमिकता दिइन्छ । बिरामीको परिवारलाई पनि निश्चित समयमा मात्रै भेट्न दिइन्छ ।
तर यसको हुर्मत लिने काम भएको भन्दै उनले आपत्ति जनाएकी हुन्। प्रतिनिधिसभामा आकस्मिक समयमा बोल्दै सांसद बास्कोटाले भनिन्, ‘दुई दिन अगाडि सार्वजनिक भएको एउटा अन्तर्वार्ताले हाम्रो संवेदनशिलतालाई उदांगो पारिदिएको छ ।’ यस्तो अन्तर्वार्ता लिनु र अन्तर्वार्ता लिन स्वीकृति दिइनु दुवै गम्भीर विषय भएको उनको भनाइ छ।































































