काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडक राज पौडेलले उडान रद्द, उडानमा ढिलाइ, ब्यागेज हराउने लगाएतका बिषयमा यात्रुले पाउने न्यूनतम क्षतिपूर्ति र अधिकारलाई कानुनमै सुनिश्चित गर्न खोजिएको बताए ।
मंगलबार सिंहदरबारमा बसेको राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठकमा आन्तरिक वायुसेवाको दायित्व सम्बन्धी विधेयक, २०८३ माथिको सैद्धान्तिक छलफलका क्रममा मन्त्री पौडेलले आन्तरिक वायुसेवा प्रदायकहरूको कानुनी दायित्व, यात्रुको अधिकार र क्षतिपूर्तिसँग सम्बन्धीत बिषयलाई कानुनमै सुनिश्चित गर्न खोजिएको बताएका हुन् ।
उनले हाल अभ्यासमा रहेको करिब २० हजार अमेरिकी डलर बराबरको बीमा दायित्वलाई अन्तर्राष्ट्रिय मापदण्डअनुरूप बढाएर १ लाख डलर पु¥याउने प्रस्ताव गरिएको जानकारी दिए । बीमा रकम वृद्धि हुँदा भविष्यमा हवाई भाडादर केही बढ्न सक्ने सम्भावनाप्रति सहज हुनुपर्ने उनको भनाइ छ ।
मन्त्री पौडेलले विमान दुर्घटना भएर जमिन वा घरमा रहेका सर्वसाधारण (गैर–यात्रु) को ज्यान वा सम्पत्तिमा क्षति पुगेमा समेत क्षतिपूर्ति दिलाउने कानुनी आधार पहिलोपटक तय गर्न लागिएको बताए ।
उनले नियमनकारी र सेवा प्रदायक निकाय विभाजन तथा विमानस्थल सञ्चालनसम्बन्धी विषय नागरिक उड्ययन प्राधिकरणको छुट्टै विधेयकमा सम्बोधन हुने उल्लेख गरे ।































































