काठमाडौं – संघीय संसद सचिवालयले नयाँ डिजिटल पार्लियामेन्ट प्लेटफर्म सञ्चालनमा ल्याएको छ ।


ADVERTISEMENT


संसदीय सूचना, सेवा, अभिलेख, गतिविधि लगाएतका काम कारवाहीहरु थप व्यवस्थित, सहज र प्रभावकारी, पारदर्शी र एकीकृत पहुँच सुनिश्चित गर्ने उदेश्यका साथ संसद सचिवालयले नयाँ डिजिटल पार्लियामेन्ट प्लेटफर्म सञ्चालनमा ल्याएको हो ।


ADVERTISEMENT

# # #


हाल परीक्षण सञ्चालनको चरणमा रहेका उक्त प्लेटफर्ममको प्रतिनिधिसभाका सभामुख डोल प्रसाद अर्याल र राष्ट्रिय सभा अध्यक्ष नारायण प्रसाद दाहालले शुभारम्भ गरेका छन् ।

सो क्रममा सभामुख अर्यालले संसद्का सूचना, विधेयकका अवस्था, क्यालेन्डर, सांसदहरूको उपस्थिति, समिति तथा उपसमितिका विवरणहरूलाई एउटै प्लेटफर्ममा समेट्ने गरि नयाँ डिजिटल पार्लियामेन्ट प्लेटफर्म सञ्चालनमा ल्याइएको बताए । नेपालको संसदीय इतिहासका पुराना ढड्डा तथा दस्तावेजलाई डिजिटलाइज गरी सयौँ वर्षसम्म सुरक्षित राख्ने र अध्ययन–अनुसन्धानका लागि सहज हुने उनको भनाइ छ । उनले व्यवस्थापिका मात्र नभई कार्यपालिका, न्यायपालिका तथा तीनै तहका सरकारहरूलाई पारदर्शी, नागरिकमुखी र जनताको विश्वास जगाउने दिशामा अघि बढाउन प्रविधिको प्रयोग अपरिहार्य रहेको धारणा राखे ।

त्यस्तै राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले संसद्, संसदीय समिति र सचिवालयका कामकारबाहीलाई परम्परागत कागजी ढाँचाबाट डिजिटल प्रणालीमा लगेर छिटो, पारदर्शी, प्रभावकारी र जवाफदेही बनाउन सहज हुने विश्वास व्यक्त गरे । उनले संसद्मा युवा पुस्ताको उपस्थिति बढे पनि अझै कागजी दस्तावेज पढ्ने पुरानो बानी कायमै रहेकाले सांसद र कर्मचारीहरूका लागि उच्चस्तरीय, व्यावहारिक र सहज अभिमुखीकरण आवश्यक रहेको धारणा राखे ।

अध्यक्ष दाहालले अन्तर्राष्ट्रिय स्तरको तुलनामा नेपालको प्रारम्भिक अवस्था सामान्य देखिए पनि वस्तुस्थिति र आवश्यकतालाई ध्यानमा राखेर चरणबद्ध रूपमा अघि बढ्नुपर्नेमा जोड दिए ।