काठमाडौं- सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले सुदूरपश्चिम प्रदेशमा ‘सेमिनार अन अनट्याप्ड पोटेन्सियल, युनिफाइड एक्सनः बजेट एचिभमेन्ट एन्ड स्ट्राटेजिक ग्रोथ रिभ्यु–सुदूरपश्चिम प्रदेश (२०८३/८४)’ कार्यक्रम सम्पन्न गरेको छ।


ADVERTISEMENT


बिहीबार असोज १ गते काठमाडौंमा आयोजित कार्यक्रममा बैंकका प्रदेश प्रमुख, शाखा–प्रबन्धक तथा अन्य कर्मचारीहरूको सहभागिता रहेको थियो। कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल, नायब प्रमुख कार्यकारी अधिकृतलगायत वरिष्ठ कर्मचारीहरूको उपस्थिति थियो।


ADVERTISEMENT

# # #


कार्यक्रममा गत आर्थिक वर्षको कार्यप्रगतिको समीक्षा गर्नुका साथै चालु आर्थिक वर्षको बजेट, रणनीतिक कार्ययोजना तथा प्राथमिकताका विषयमा छलफल गरिएको बैंकले जनाएको छ। साथै केन्द्र र प्रदेशबीचको सहकार्य थप सुदृढ बनाउने विषयमा समेत अन्तरक्रिया भएको थियो।

सुदूरपश्चिम प्रदेशका सात जिल्लामा सिटिजन्स बैंकका १० वटा शाखा सञ्चालनमा रहेका छन्। बैंकले यसअघि बागमती प्रदेशमा ‘लिडिङ फ्रम द फ्रन्टः स्ट्राटेजिक ग्रोथ इम्पेरिटिभ्स फर बागमती प्रदेश’, कोशी प्रदेशमा ‘एक्सेलेरेटिङ कमर्सियल मोमेन्टमः बिजनेस एक्स्पान्सन एन्ड एसेट क्वालिटी इन्हान्समेन्ट इन कोशी प्रदेश’ तथा मधेश प्रदेशमा ‘ड्राइभिङ हाई–भोल्युम ग्रोथ, क्वालिटी क्रेडिट एन्ड मार्केट लिडरसिप २०८२/८३’ कार्यक्रम आयोजना गरिसकेको छ।

बैंकले यस्तै कार्यक्रम अन्य प्रदेशमा पनि क्रमशः आयोजना गर्ने जनाएको छ।

बैंकका अनुसार आर्थिक वर्ष २०८२/८३ मा कर्जा प्रवाह १.२४ प्रतिशतले बढेर १ खर्ब ७ अर्ब ३३ करोड रुपैयाँ पुगेको छ। त्यस्तै, निक्षेप संकलनमा ९.२२ प्रतिशत वृद्धि भई २ खर्ब ३ अर्ब ८१ करोड रुपैयाँ पुगेको बैंकले जनाएको छ।

सो अवधिमा बैंकको खुद नाफा ६३.०५ प्रतिशतले बढेर २ अर्ब ९ करोड ८६ लाख रुपैयाँ पुगेको छ।

विश्वकै प्रतिष्ठित Bank of the Year अवार्ड २०२४ र २०२५ को उपाधि प्राप्त गरेको बैंकले फोर्ब्ससँगको सहकार्यमा नेपालमै पहिलोपटक ‘सिटिजन्स फोर्ब्स क्रेडिट कार्ड’ सञ्चालनमा ल्याएको जनाएको छ।

बैंकले युवालाई लक्षित गरी ‘सिटिजन्स जेन–जी सेभिङ अकाउन्ट’ र ‘सिटिजन्स डिजी बैंक सेवा’ नामक एकीकृत अनलाइन प्लेटफर्म पनि सञ्चालनमा ल्याएको छ। त्यस्तै, प्रिमियम ग्राहकका लागि ‘प्रिमियमर सेभिङ अकाउन्ट’ नामक नयाँ बचत खाता सुरु गरिएको बैंकले जनाएको छ।

सिटिजन्स बैंकले मोबाइल बैंकिङ एपमार्फत शेयर आवेदन तथा सी–आरएन नम्बरसम्बन्धी सेवा लिन सकिने सुविधा पनि उपलब्ध गराएको छ। क्रस बैंक टेलर सुविधामार्फत अन्य बैंकका ग्राहकले समेत सिटिजन्स बैंकको शाखाबाट क्यूआर स्क्यान गरी नगद प्राप्त गर्न सक्ने व्यवस्था गरिएको बैंकको भनाइ छ।

हाल बैंकले देशभर ६१ जिल्लामा २०० शाखा, १६७ एटीएम, ३ एक्सटेन्सन काउन्टर र ४२ शाखारहित बैंकिङ इकाइमार्फत करिब २० लाख ६४ हजार ग्राहकलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको जनाएको छ।