काठमाडौं- प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले निजी क्षेत्रलाई प्रोत्साहन गर्न राज्यले आवश्यक नीति निर्माण, संरक्षण र नियमन गर्नुपर्ने बताएका छन्।
भृकुटीमण्डपमा शुक्रबार नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनीको उद्घाटन गर्दै सभामुख अर्यालले लामो समयदेखि निजी क्षेत्रले व्यावसायिक जोखिम मोलेर नेपालको अर्थतन्त्रलाई चलायमान बनाउन योगदान दिँदै आएको बताए।
उनले नेपालका करिब ८० प्रतिशत घरधुरीमा रेमिट्यान्स भित्रिने गरेको र तीव्र सहरीकरण भइरहेको अवस्थामा नयाँ विकास तथा निर्माणका लागि ठूलो सम्भावना रहेको उल्लेख गरेका छन्।
घरजग्गा क्षेत्र आन्तरिक अर्थतन्त्रलाई चलायमान बनाउने महत्वपूर्ण क्षेत्र भएकाले राज्यले यसलाई प्रोत्साहन गर्नुपर्ने उनको भनाइ छ। व्यवसायीहरूले प्रमुख समस्याका रूपमा उठाउँदै आएको ‘हदबन्दी’ सम्बन्धी विषयमा सरकार गम्भीर रहेको भन्दै सभामुख अर्यालले यसको छिट्टै समाधान हुने विश्वास व्यक्त गरे।
नयाँ पुस्तालाई समेत आकर्षित गर्न घरजग्गा व्यवसायलाई मर्यादित, सुरक्षित र सम्मानित बनाउन आवश्यक रहेको उनले बताएका छन्।
सभामुख अर्यालले पछिल्लो बाढीका कारण ठूलो भौतिक क्षति भएको उल्लेख गर्दै विपद्पछिको पुनर्निर्माण, दिगो संरचना निर्माण तथा आर्थिक पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेकोमा जोड दिएका छन्।































































