काठमाडौं- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको हितका लागि लचकता अपनाएर अघि बढ्न आफू तयार रहेको बताएका छन्।
बिहीबार पार्टीको केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय समितिको बैठकमा बोल्दै सभापति थापाले पार्टीभित्र कसले जित्यो वा कसले आफ्नो अडान छाड्यो भन्नेभन्दा पनि पार्टीको बृहत्तर हितलाई केन्द्रमा राखेर अघि बढ्नुपर्ने धारणा व्यक्त गरेका हुन्।
उनले पार्टीका सबै तह, वर्ग र व्यक्तित्वलाई समेट्दै कांग्रेसलाई एकताबद्ध बनाएर अघि बढ्न आफू प्रतिबद्ध रहेको बताए। पार्टीभित्र देखिएका असहमति र असन्तुष्टिलाई सम्बोधन गर्दै अब कांग्रेसलाई एकताबद्ध बनाएर अघि बढ्ने धारणा उनले राखे।
सभापति थापाले पार्टीभित्रको आन्तरिक मतभेदलाई थाती राखेर बृहत्तर हितका लागि लचकता अपनाउन निवर्तमान सभापति शेरबहादुर देउवासहित सबै नेताहरूलाई आग्रह गरेका छन्।
पूर्वसभापतिको हैसियतमा देउवाले महाधिवेशन उद्घाटन गर्दा पार्टीले ठूलो सम्मान प्राप्त गर्ने थापाको भनाइ थियो। कांग्रेसबाट अलग भएका नेता तथा कार्यकर्तालाई समेत पार्टीमा जोड्दै कांग्रेसलाई थप बलियो बनाउनुपर्नेमा उनले जोड दिए।
थापाले निर्धारित समयमा नै महाधिवेशन सम्पन्न गर्नुपर्ने बाध्यता रहेको उल्लेख गर्दै पार्टीको महाधिवेशन सम्पन्न गरेर जनतासामु जाने तयारीमा जुट्नुपर्ने बताए।
साथै, वडा, जिल्ला तथा अन्य तहका अधिवेशनको जिम्मेवारी पाएका नेताहरूलाई महाधिवेशनमा सक्रिय सहभागिता जनाउन उनले आग्रह गरे। सहभागी हुन नसक्ने अवस्था आए विधानअनुसार वैकल्पिक व्यवस्था गर्नुपर्ने अवस्था आउन सक्ने उनको भनाइ छ।
सभापति थापाका अनुसार विशेष महाधिवेशनपछि पनि पार्टीभित्र तथा नेताहरूबीच छलफल जारी रहेको छ। विभिन्न प्रस्ताव तथा सुझावका आधारमा सहमतिको वातावरण निर्माण हुँदै गएको उनले बताए।































































