काठमाडौं – नेपाली कांग्रेसले पार्टीका शीर्ष नेताहरूलाई १५औँ महाधिवेशन प्रक्रियामा सक्रिय रूपमा सहभागी हुन आग्रह गरेको छ।
बिहीबार पार्टी कार्यालय सानेपामा बसेको कांग्रेस केन्द्रीय समिति बैठकले पूर्वसभापति शेरबहादुर देउवा, शेखर कोइराला, शशांक कोइराला, पूर्णबहादुर खड्का लगायतका शीर्ष नेताहरूलाई महाधिवेशन प्रक्रियामा सहभागी हुन आग्रह गरेको प्रवक्ता देवराज चालिसेले जानकारी दिएका छन्।
बैठकले व्यवस्थापन समितिले तयार पारेको मतदाता नामावली अनुमोदन समेत गरेको छ। अनुमोदित नामावली अब केन्द्रीय निर्वाचन समितिमार्फत जिल्ला–जिल्लामा पठाइने प्रवक्ता चालिसेले बताए।
बैठकले पार्टीका सबै तहमा सक्रियता बढाउँदै महाधिवेशन सम्पन्न गर्ने अभियानमा लाग्नसमेत आह्वान गरेको छ। यसअघि महाधिवेशनबाट निर्वाचित पुराना पदाधिकारीहरूलाई समेत हाल केन्द्रीय सदस्यकै हैसियतमा महाधिवेशन प्रक्रियामा सहभागी गराउने विषय स्पष्ट पारिएको छ।
प्रवक्ता चालिसेका अनुसार पूर्वसभापति देउवाकै हातबाट महाधिवेशन उद्घाटन गराउने प्रयास र आग्रह भइरहेको छ। पार्टीले कुनै पनि अग्रज नेताको सम्मानमा कमी हुन नदिने धारणा समेत राखेको उनले बताए।
लोकतन्त्रमा फरक मत हुनु स्वाभाविक भए पनि त्यसलाई मतमार्फत बदल्ने ठाउँ महाधिवेशन नै भएकाले आगामी १६ गतेसम्म सबै नेताहरू एउटै मञ्चमा एकजुट भएको सन्देश जनतामाझ पुर्याउने विश्वास कांग्रेसले व्यक्त गरेको छ।
कांग्रेसले निर्धारित कार्यतालिकाअनुसार महाधिवेशन प्रक्रिया अघि बढाउँदै पार्टीलाई थप एकताबद्ध बनाउने उद्देश्यसहित सबै नेता तथा कार्यकर्तालाई सक्रिय सहभागिताका लागि आग्रह गरेको हो।































































