काठमाडौं- नेकपा एमालेका सचिव योगेश भट्टराईले पार्टी नेतृत्वको हस्तान्तरणमार्फत एमालेलाई पुनर्जागृत गर्नुपर्ने बताएका छन्।
रिपोर्टर्स क्लब नेपालले शुक्रबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा भट्टराईले एमाले यथास्थितिमा रहन नसक्ने भन्दै पार्टीको नीति, संगठनात्मक ढाँचा, कार्यशैली तथा बोली–वचनको पुनरावलोकन आवश्यक रहेको बताए। उनले नेतृत्व हस्तान्तरणमार्फत पार्टीलाई पुनर्जागृत गर्नुपर्नेमा जोड दिए।
उनले निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठनको प्रस्ताव तयार गर्न गठित कार्यदलमा पार्टी अध्यक्षले हस्तक्षेप गरेको आरोपसमेत लगाए।
भट्टराईका अनुसार कार्यदलको समझदारीअनुसार महासचिव शंकर पोखरेलले प्रतिवेदन तयार गरी सदस्यहरूलाई अध्ययनका लागि उपलब्ध गराए पनि अध्यक्षको असहमतिपछि छलफल अघि बढ्न सकेन। त्यसको विकल्पमा उपाध्यक्ष रामबहादुर थापालाई अर्को प्रतिवेदन लेख्न लगाइएको उनको दाबी छ।
देशभरका सदस्य, प्रदेश कमिटी, जनसंगठन तथा वरिष्ठ नेताहरूबाट संकलित सुझावमा साझा रूपमा ‘पार्टी पुनर्गठित हुनुपर्छ’ भन्ने आवाज उठेको भट्टराईले बताए।































































