काठमाडौं । प्रभु बैंक लिमिटेडले विपद्बाट प्रभावित परिवारका लागि काठमाडौंको पहेंलो गुम्बामा दुईतले ६ वटा बंक बेड हस्तान्तरण गरेको छ।


ADVERTISEMENT


बैंकले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत प्राकृतिक प्रकोप तथा बाढीबाट प्रभावित भई उक्त गुम्बामा आश्रय लिइरहेका परिवारको तत्कालीन आवश्यकतालाई ध्यानमा राख्दै बंक बेड उपलब्ध गराएको जनाएको छ।


ADVERTISEMENT

# # #


प्रभावित परिवारका लागि दुईतले बेड आवश्यक रहेको पहिचान भएपछि बैंकले थप सहयोगस्वरूप ६ वटा बंक बेड हस्तान्तरण गरेको हो। यसबाट राहत तथा आश्रयस्थलमा बस्दै आएका प्रभावित परिवारलाई सहजता पुग्ने बैंकले विश्वास व्यक्त गरेको छ।

यसअघि पनि प्रभु बैंकले विनाशकारी बाढीबाट प्रभावित तथा घरबारविहीन परिवारलाई राहत उपलब्ध गराउने उद्देश्यले सीएसआरअन्तर्गत २ करोड ११ लाख ११ हजार ३ सय रुपैयाँ तथा बैंकका सञ्चालक र कर्मचारीले स्वेच्छिक रूपमा संकलन गरेको ४० लाख ८० हजार ५०५ रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गरेको जनाएको छ।

त्यस्तै, बाढी प्रभावित परिवारलाई राहत उपलब्ध गराउने उद्देश्यले बैंकले १०० वटा टेन्ट र १०० वटा स्लीपिङ ब्याग जिल्ला प्रशासन कार्यालय, नुवाकोटलाई हस्तान्तरण गरेको थियो।

प्रभु बैंकले विपद्बाट प्रभावित घाइतेहरूको उपचारमा सहयोग पुर्‍याउने उद्देश्यले देशका सातै प्रदेशमा देशव्यापी रक्तदान कार्यक्रमसमेत सञ्चालन गरेको जनाएको छ।

प्राकृतिक विपद्का कारण ज्यान गुमाउने स्वदेशी तथा विदेशी नागरिकप्रति बैंकले श्रद्धाञ्जली व्यक्त गर्दै बेपत्ता नागरिकको शीघ्र उद्धार तथा घाइतेहरूको स्वास्थ्यलाभको कामना गरेको छ। साथै, विपद्बाट प्रभावित नागरिक तथा समुदायको राहत, उद्धार र पुनर्स्थापनाका प्रयासमा आफ्नो सामाजिक उत्तरदायित्वलाई निरन्तरता दिने बैंकले जनाएको छ।