काठमाडौं – सरकारले सञ्चालनमा ल्याएको विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली (ईडीएलभीआरएस) मार्फत सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइ सुरु गरिएको छ।
साउन १ गतेदेखि कार्यान्वयनमा ल्याइएको नयाँ प्रणालीमार्फत लामो समयदेखि रहँदै आएको लाइसेन्स छपाइको समस्या समाधान गर्ने उद्देश्यले यातायात व्यवस्था विभागले छपाइ प्रक्रिया अघि बढाएको हो।
नयाँ व्यवस्थाअनुसार सेवाग्राहीको विवरण ईडीएलभीआरएसमा प्रविष्ट भएपछि सो विवरण सिधै सुरक्षण मुद्रणमा पुग्नेछ। सुरक्षण मुद्रणले लाइसेन्स छपाइ गरेपछि हुलाकमार्फत सम्बन्धित यातायात व्यवस्था सेवा कार्यालयमा पठाउने व्यवस्था गरिएको छ।
यसअघि लाइसेन्स छपाइ तथा वितरणमा देखिँदै आएको ढिलाइ हटाउँदै नयाँ र नवीकरण गर्ने सेवाग्राहीलाई समयमै लाइसेन्स उपलब्ध गराउने लक्ष्यसहित प्रणाली कार्यान्वयन गरिएको विभागले जनाएको छ।
नयाँ प्रणालीअन्तर्गत पहिलो चरणमा मधेश प्रदेशका ३ हजार ८१ वटा लाइसेन्स छपाइ गरी सम्बन्धित यातायात कार्यालयमा वितरणका लागि हुलाकमार्फत पठाइएको छ।
प्रदेश सरकारले सुरक्षण मुद्रणसँग सम्झौता गरी आफ्नै व्यवस्थापनमा लाइसेन्स छपाइ गर्न सक्ने व्यवस्था गरिएको छ। सोहीअनुसार मधेश प्रदेशले सम्झौता गरी लाइसेन्स छपाइ गरिरहेको छ भने लुम्बिनी प्रदेशले पनि शुक्रबार सम्झौता गर्दै छपाइ प्रक्रिया सुरु गरेको छ।
अन्य प्रदेशले सुरक्षण मुद्रणसँग सम्झौता नगरेको अवस्थामा भने सेवाग्राहीको चाप र आवश्यकतालाई ध्यानमा राखी यातायात व्यवस्था विभाग तथा सुरक्षण मुद्रणको समन्वयमा लाइसेन्स छपाइ गर्ने व्यवस्था मिलाइएको छ।
नयाँ प्रणाली लागू भएसँगै प्रदेशअनुसार लाइसेन्स छपाइको जिम्मेवारी व्यवस्थापन गरी सेवाग्राहीलाई छिटो, सहज र समयमै अनुमतिपत्र उपलब्ध गराउने प्रक्रिया अघि बढेको विभागले जनाएको छ।































































