काठमाडौं – देशका विभिन्न स्थानमा बेवारिसे अवस्थामा रहेका सडकआश्रित मानवको खोजी गर्दै मानवसेवा आश्रमले भदौ महिनामा मात्रै २०९ जनाको उद्धार गरेको छ।
आश्रमले विभिन्न कारणले सडकजीवन बिताउन बाध्य १ सय ३९ जना पुरुष र ७० जना महिलाको उद्धार गरी देशभर रहेका आफ्ना शाखामार्फत संरक्षण प्रदान गरेको हो। सोही अवधिमा आश्रमले संरक्षणमा रहेका ७० जनाको परिवार खोजी गरी पारिवारिक पुनर्मिलन गराएको आश्रमको उद्धार तथा पुनर्मिलन विभागले जानकारी दिएको छ ।
उद्धार तथा पारिवारिक पुनर्मिलन गर्ने शाखामध्ये पशुपतिस्थित होल्डिङ सेन्टरले ५६ जनाको उद्धार र १५ जनाको पारिवारिक पुनर्मिलन गरेको छ। त्यस्तै, रुपन्देहीस्थित तिलोत्तमा शाखाले २० जनाको उद्धार र ३ जनाको पुनर्मिलन गराएको छ।
चितवन शाखाले १२ जनाको उद्धार तथा ७ जनाको पुनर्मिलन, रौतहट शाखाले १२ जनाको उद्धार तथा १२ जनाको पुनर्मिलन र सुनसरी शाखाले ११ जनाको उद्धार तथा १० जनाको पुनर्मिलन गरेको छ।
त्यस्तै, बाँके र मोरङ शाखाले समान ९–९ जनाको उद्धार गरेका छन्। रानीवनले ८ जनाको उद्धार तथा ३ जनाको पुनर्मिलन, सुर्खेतले ८ जना, दाङले ९ जना, बागलुङले ६ जना र कैलालीबाट ६ जनाको उद्धार गरेका छन् ।
उद्धार तथा पारिवारिक पुनर्मिलनमा सक्रिय मानवसेवा आश्रमले विभिन्न कारणले सडकजीवन बिताइरहेका सडकआश्रित मानवको उद्धार गरी संरक्षण प्रदान गर्दै आएको छ। साथै आश्रमले सम्भव भएसम्म परिवारको खोजी गरी परिवारसँग पुनर्मिलनसमेत गराउँदै आइरहेको छ ।
हाल मानवसेवा आश्रमले २४ जिल्लाका ३५ शाखा विस्तार गरी सहयोगापेक्षी सडकआश्रित मानवहरूको खोजी, उद्धार, उपचार, संरक्षण तथा सम्भव भएसम्म पारिवारिक पुनर्मिलन सेवा निरन्तर रुपमा सञ्चालन गरिरहेको छ।
मानवसेवा आश्रमले वि।सं। २०६९ साल भाद्र १३ गते मुख्य कार्यालय मकवानपुर, हेटौँडाबाट औपचारिक रूपमा सेवा शुभारम्भ गरेको हो ।































































