काठमाडौं- बाढी प्रभावित समुदायको राहत, पुनर्स्थापना तथा पुनर्निर्माणमा सहयोग पुर्याउने उद्देश्यले उबरले ‘राइड फर नेपाल’ अभियान सुरु गरेको छ।
अभियानअन्तर्गत उबरले नेपाल रेडक्रस सोसाइटीलाई ५० लाख रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता जनाएको छ। उक्त रकम आपतकालीन राहत सामग्री, अस्थायी आश्रय तथा पुनर्स्थापनाका कार्यमा प्रयोग गरिने कम्पनीले जनाएको छ।
यस्तै, अभियान अवधिभर उबरमार्फत सम्पन्न हुने हरेक Uber Bike यात्राबापत १० रुपैयाँ र Uber Cab यात्राबापत २० रुपैयाँ कम्पनीले आफ्नै तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा योगदान गर्नेछ।
कम्पनीका अनुसार यो रकम यात्रु वा चालकबाट कटौती गरिने छैन। यात्रुले नियमित भाडा नै तिर्नेछन् भने चालकले पनि साविकअनुसारकै रकम प्राप्त गर्नेछन्।
नेपालका लागि उबरका रणनीतिक साझेदार Taximandu का संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत अर्जुन केसीले अभियानमा यात्रु र चालक दुवैको सहभागिता महत्वपूर्ण रहेको बताउनुभयो। उहाँले दैनिक यात्रालाई विपद् प्रभावित समुदायको राहत तथा पुनर्निर्माणसँग जोड्ने उद्देश्यले अभियान सञ्चालन गरिएको बताउँदै सकेसम्म धेरै राइडमार्फत सहयोग जुटाउन आग्रह गर्नुभयो।
अभियानमा सहभागी हुन यात्रुले उबर एपमार्फत नियमित राइड बुक गर्न र चालकले Uber Driver एपमा अनलाइन भएर राइड स्वीकार गरी पूरा गर्नुपर्नेछ। योग्य राइडको संख्या बढ्दै जाँदा राहतका लागि उबरको कुल योगदान पनि बढ्दै जानेछ।
उबर इन्डिया तथा दक्षिण एसियाका अन्तर्राष्ट्रिय बजार प्रमुख आकांक्षा सिंहले नेपालमा राहत तथा पुनर्स्थापनाका लागि सामूहिक प्रयास आवश्यक रहेको बताउनुभएको छ। कम्पनीले सामाजिक उत्तरदायित्वअन्तर्गत विपद्का बेला प्रभावित समुदायलाई सहयोग गर्ने उद्देश्यले अभियान सञ्चालन गरेको जनाएको छ।































































