काठमाडौं – काठमाडौं उपत्यकामा रात्रिकालीन बस सेवा सञ्चालन गर्न ९ वटा स्थानीय तह एउटै कार्यक्रममा आबद्ध भएका छन् ।


ADVERTISEMENT


काठमाडौं महानगरपालिकाको नेतृत्वमा साझा यातायातसँग सहकार्य गरेर १ वैशाखदेखि सुरु परीक्षणका रूपमा सञ्चालन गरिएको रात्रिकालीन यातायात सेवा विस्तार गरी अगाडि बढाउन आवश्यकताका आधारमा दायित्व वहन गर्ने गरी स्थानीय तह साझा कार्यक्रममा आबद्ध भएका हुन् ।


ADVERTISEMENT

# # #


काठमाडौं महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले संविधानबाट नागरिकका लागि प्रत्याभूत आधारभूत आवश्यकताको पहुँच बढाउँदै जाने क्रममा रात्रिकालीन बस सेवा थप विकास र विस्तार गर्दै लगिएको बताइन् । उनका अनुसार परीक्षण कालमा अभ्यास गरिएको २ वटा रुटमा ४ वटा बस थपिएको छ । ७ वटा गाडीलाई ३० वटा पुर्‍याइएको छ । ४ नगरपालिकाको सहकार्यमा ९ पुगेको छ ।

रातको समयमा आवतजावत गर्ने सर्वसाधारण, व्यवसायी, उद्यमी, श्रमिक, अस्पताल जाने बिरामी तथा आन्तरिक एवं वाह्य पर्यटकलाई सहज, सुरक्षित र भरपर्दो यातायात सेवा उपलब्ध गराउने यसको उद्देश्य सहित संविधान दिवसको दिन पारेर स्थानीय तहका प्रमुखहरूले साझा यातायातसँग समझदारीपत्रमा हस्ताक्षर गरे ।

हस्ताक्षर गर्नेमा काठमाडौं र ललितपुर महानगरपालिका तथा बूढानीलकण्ठ, गोदावरी, चन्द्रागिरि, कीर्तिपुर, भक्तपुर, सूर्यविनायक र मध्यपुर थिमि नगरपालिका छन् । यसमा साझा यातायातका तर्फबाट अध्यक्ष सुशीलराज प्याकुरेलले हस्ताक्षर गरे । हस्ताक्षर लगत्तै ६ वटा रुटका लागि ३० वटा बस सञ्चालन थालिएको थियो ।

ललितपुर महानगरपालिका प्रमुख चिरीबाबु महर्जनले उपत्यकावासीको यातायात सहजताका लागि संघ सरकारबाट मेट्रो सञ्चालन योजना आउनुपर्नेमा नआएपछि स्थानीय स्तरमा सञ्चालनमा ल्याउन सकिने प्रणालीमा सहकार्य थालिएको बताए ।