काठमाडौं – सौन्दर्यसँगै प्रतिभा, व्यक्तित्व र आत्मविश्वास प्रस्तुत गर्ने विवाहित महिलाको प्रतिष्ठित प्रतियोगिता मिसेस नेपाल वर्ल्ड २०२६ को अन्तिम चरणका लागि २२ जना प्रतिस्पर्धी छनोट भएका छन्।
बिहीबार राजधानीमा आयोजित स्यासिङ समारोहमा विभिन्न स्थानमा सम्पन्न अडिसनबाट छनोट भएका प्रतिस्पर्धीलाई ट्याग नम्बर तथा स्यास प्रदान गरिएको हो। थापागाउँस्थित बानेश्वर हिल्समा आयोजित समारोहमा सहभागी २२ प्रतिस्पर्धीले आफ्नो परिचयसमेत प्रस्तुत गरेका थिए।
प्रतियोगिताको अन्तिम चरणमा प्रियशिखा खड्का, सगुन खनाल, सोफिया ढकाल, ऋचा शर्मा, स्वेक्षा पौड्याल, रस्ना श्रेष्ठ, यस्मिन बेगम सइद, नेहा गुप्ता, दिप्ती ढुंगेल, बिन्दु थापा राना, शिल्पा न्यौपाने, शान्ता राना, सुनिता श्रेष्ठ कर्माचार्य, सन्ध्या लामा, बिनिता गुरुङ, ज्योति लामिछाने, समीक्षा रानाभाट, सुष्मा थापा, क्रिस्टिना ज्ञवाली, अञ्जु परियार, मोनिका तामाङ र कञ्चन महर्जनले प्रतिस्पर्धा गर्नेछन्।
आयोजक रिवन इन्टरटेनमेन्टका अध्यक्ष निशुकान्त झाका अनुसार यसपटक प्रतियोगितामा समाजका विभिन्न क्षेत्रमा सक्रिय महिलाको सहभागिता रहेको छ। गृहिणीदेखि डाक्टर, इन्जिनियर, बैंकर, व्यवसायी, स्वास्थ्यसेवी, नर्स, फेसन डिजाइनर तथा व्यवस्थापन क्षेत्रमा कार्यरत महिलासम्म प्रतियोगिताको अन्तिम चरणमा पुगेका छन्।
आयोजक शिला बास्तोलाका अनुसार प्रतियोगिताको उद्देश्य विवाहित महिलालाई आफ्नो प्रतिभा, क्षमता र व्यक्तित्व प्रस्तुत गर्ने अवसर प्रदान गर्नु हो। पारिवारिक जिम्मेवारीसँगै आफ्नो पेशागत तथा व्यक्तिगत पहिचान बनाइरहेका महिलालाई प्रतियोगिताले थप मञ्च प्रदान गर्ने आयोजकको भनाइ छ।
मिसेस नेपाल वर्ल्ड २०२६ को ग्रान्ड फिनाले कात्तिक १४ गते नेपाल पुलिस क्लबमा आयोजना हुँदैछ। फिनालेबाट चयन हुने विजेताले अमेरिकामा आयोजना हुने अन्तर्राष्ट्रिय मिसेस वर्ल्ड प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्नेछिन्।
यसैगरी सोही मञ्चबाट मिसेस नेपाल इन्टरनेसनल, एमएस इन्टरनेसनल र मिसेस कोस्मोका विजेतासमेत चयन गरिने आयोजकले जनाएको छ। यी उपाधि जित्ने प्रतिस्पर्धीले सिंगापुरमा आयोजना हुने अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुने अवसर पाउनेछन्।
अश्विनी झाको कोरियोग्राफी तथा निशा बराइलीको सह–कोरियोग्राफीमा प्रतियोगिता अघि बढ्नेछ। प्रतिस्पर्धीलाई सन्दीप भुजेलले नृत्य प्रशिक्षण दिनेछन् भने गंगा महर्जन र विन्दिया श्रेष्ठको संयोजनमा करिब ४५ दिनसम्म विभिन्न प्रशिक्षण तथा प्रतिस्पर्धात्मक गतिविधि सञ्चालन गरिने आयोजकले जनाएको छ।































































