काठमाडौं- सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले नागरिकलाई कठिन परिस्थितिमा समेत निरन्तर सूचना, सञ्चार र सार्वजनिक सेवा उपलब्ध गराउन सक्ने दिगो तथा उत्थानशील डिजिटल प्रणाली आवश्यक रहेको बताएका छन्।


ADVERTISEMENT


आइतबार आइसिटी फाउन्डेसन नेपालद्वारा आयोजित डिजिटल नेपाल कन्क्लेभमा बोल्दै मन्त्री तिमिल्सिनाले नेपालमा डिजिटल रूपान्तरणलाई प्रविधिको विस्तार र सरकारी सेवाको आधुनिकीकरणमा मात्र सीमित नगरी विपद् तथा सङ्कटका समयमा समेत प्रभावकारी रूपमा प्रयोग गर्नुपर्ने बताएका हुन् ।


ADVERTISEMENT

# # #


उनले हालैको भोटेकोशी बाढीले भौतिक पूर्वाधारसँगै नेपालको सूचना प्रणाली, सञ्चार सञ्जाल, संस्थागत समन्वय र राष्ट्रिय तयारीको समेत परीक्षण गरेको जानकारी दिएका छन्।

मन्त्री तिमल्सिनाले गलत सूचना र अफवाहले सङ्कटका समयमा नागरिकमा थप अनिश्चितता सिर्जना गर्न सक्ने भएकाले सूचना प्रणालीलाई विश्वसनीय र उत्तरदायी बनाउनुपर्ने जोड दिए ।

सञ्चार  मन्त्री तिमल्सिनाले डिजिटल नेपालको आगामी चरणका लागि सूचना विश्वसनीयता र सार्वजनिक विश्वास, भरपर्दो तथा समावेशी कनेक्टिभिटी, सरकारी निकायबीच अन्तरसञ्चालन क्षमता, नागरिककेन्द्रित डिजिटल सेवा तथा कृत्रिम बौद्धिकता र तथ्याङ्क शासनको जिम्मेवार प्रयोगलाई प्राथमिकतामा राख्नुपर्ने बताएका छन् ।

दुर्गम हिमाली क्षेत्र, ग्रामीण भेग र विपद् प्रभावित नागरिकलाई समेत आवश्यक समयमा डिजिटल सेवा तथा सञ्चारमा पहुँच सुनिश्चित गर्नुपर्नेमा जोड दिएका छन्।

डिजिटल रूपान्तरणलाई प्रविधि विकासको परियोजनामा मात्र सीमित नगरी शासन, विकास र राष्ट्र निर्माणसँग जोड्नुपर्ने भन्दै मन्त्री तिमिल्सिनाले सरकार, निजी क्षेत्र, प्राज्ञिक समुदाय, नवप्रवर्तनकर्ता र नागरिकबीच सहकार्य आवश्यक रहेको उल्लेख गरेका छन् ।

भोटेकोशी बाढीको अनुभवले नेपालका डिजिटल प्रणाली सामान्य अवस्थामा मात्र नभई कठिन परिस्थितिमा पनि प्रभावकारी रूपमा सञ्चालन हुनुपर्ने आवश्यकता देखाएको मन्त्री तिमल्सिनाको भनाइ छ ।