जनकपुरधाम- राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. अमरेशकुमार सिंहले नेपालको वर्तमान संविधानमाथि आन्तरिक तथा बाह्य विभिन्न शक्तिहरूबाट चौतर्फी प्रहार भइरहेको बताएका छन्।


ADVERTISEMENT


आइतबार जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा बोल्दै सांसद सिंहले वर्तमान संविधान असफल भए आगामी १० वर्षसम्म नयाँ संविधान बन्न नसक्ने चेतावनी दिएका छन्। उनले कुनै कारणवश वर्तमान संविधान गुमे देश गृहयुद्धको चक्रव्यूहमा फस्न सक्ने र मधेश आन्दोलन तथा जनयुद्धबाट प्राप्त अधिकार तथा उपलब्धिसमेत समाप्त हुन सक्ने बताएका छन्।


ADVERTISEMENT

# # #


सांसद सिंहले केन्द्रको सत्ता सञ्चालन गर्नेहरूले मधेशलाई सधैँ उपेक्षा गरेको आरोप लगाउँदै मधेश र कोशी प्रदेशलाई रणनीतिक रूपमा ‘ब्याटल ग्राउन्ड’ बनाउने प्रयास भइरहेको दाबी गरेका छन्।

आफ्नै पार्टीको सरकार भए पनि जनताका सवालमा सरकारलाई निरन्तर खबरदारी गरिरहने उनले स्पष्ट पारेका छन्। मधेशमा शिक्षा, स्वास्थ्य, सडक, सिँचाइ, शान्ति–सुरक्षा र सरसफाइजस्ता आधारभूत आवश्यकता अझै कमजोर अवस्थामा रहेको उनको भनाइ छ।

मधेशमा अहिलेसम्म स्तरीय सरकारी मेडिकल कलेज वा सुपर स्पेसियालिटी अस्पताल नहुनु विडम्बनापूर्ण रहेको पनि सांसद सिंहले टिप्पणी गरेका छन् ।

मधेशका वास्तविक समस्या, जनअपेक्षा र विकासका चुनौतीलाई प्रत्यक्ष रूपमा बुझ्ने उद्देश्यले सांसद सिंहले आगामी छठ पर्वको अवसर पारेर जनकपुरधामबाट ‘मेची–महाकाली पैदल यात्रा’ सुरु गर्ने घोषणा गरेका छन्।

उनले पैदल यात्राका क्रममा जनतासँग प्रत्यक्ष संवाद गर्दै मधेशसहित देशका विभिन्न क्षेत्रका समस्या र नागरिकका अपेक्षा बुझ्ने बताएका छन्।