काठमाडौं- नेपाली कांग्रेसको वडा अधिवेशनबाट १८ वर्षीया सुनिता सुवेदी क्षेत्रीय प्रतिनिधिमा निर्वाचित भएकी छन् । कालिकोटको सान्नी त्रिवेणी गाउँपालिका–१ मा सम्पन्न वडा अधिवेशनबाट नर्स पेशामा रहेकी सुवेदी क्षेत्रीय प्रतिनिधिमा चयन भएकी हुन् ।
सानै उमेरमा स्वास्थ्य सेवासँगै राजनीतिक गतिविधिमा समेत सक्रिय रहेकी सुवेदीको प्रतिनिधिका रूपमा भएको चयनले कांग्रेसको स्थानीय तहमा युवा पुस्ताको सहभागितालाई देखाएको छ । पेशागत जिम्मेवारीसँगै पार्टीको संगठनात्मक भूमिकामा समेत सक्रिय हुने अवसर सुवेदीले पाएकी छन् ।
कांग्रेसको संशोधित विधानले पार्टीको संगठनमा नयाँ पुस्ताको सहभागिता बढाउने गरी विभिन्न व्यवस्था गरेको छ । पछिल्लो समय वडा तहदेखि नै युवा पुस्ता नेतृत्व तथा प्रतिनिधित्वको प्रक्रियामा जोडिन थालेका छन् ।
कालिकोटको सान्नी त्रिवेणी गाउँपालिका–१ मा भएको वडा अधिवेशनबाट सुवेदी क्षेत्रीय प्रतिनिधि बनेसँगै उनको राजनीतिक यात्राले औपचारिक रूपमा नयाँ चरणमा प्रवेश गरेको छ ।
नेपाली कांग्रेसको वडा अधिवेशन हिजोदेखि सुरु भएको हो । शनिबार ४३ जिल्लामा वडा अधिवेशन भएको थियो भने बाँकी जिल्लामा आज अधिवेशन जारी रहेको छ ।
कांग्रेसको १५औँ महाधिवेशन असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा आयोजना हुँदैछ । वडा तहबाट सुरु भएको अधिवेशन क्रमशः माथिल्ला तह हुँदै महाधिवेशनतर्फ अघि बढिरहेको छ ।































































