काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठकले भोटेकोशी बाढीबाट भएको जनधनको क्षतिप्रति सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ।
आइतबार बसेको रास्वपा सचिवालय बैठकले बाढी प्रभावित क्षेत्रमा खोजी, उद्धार तथा राहत वितरणको कामलाई अझ तीव्रता दिन सरकारसँग आग्रह गरेको हो। बैठकका निर्णयबारे जानकारी दिँदै प्रवक्ता जगदीश खरेलले बाढी प्रभावित क्षेत्रमा खोज, उद्धार र राहतको काम जारी रहेको तथा अब पुनर्स्थापना र पुनर्निर्माणको कामसमेत सुरु हुन लागेको जानकारी सरकारमा सहभागी मन्त्री तथा पदाधिकारीबाट प्राप्त भएको बताएका छन् ।
बैठकले बेपत्ता भएका नागरिकको शव पहिचान हुन नसकेको अवस्थामा डीएनए परीक्षणलाई छिटो सम्पन्न गर्न तथा पीडित परिवारलाई राहतको अनुभूति हुने गरी सरकारी सहयोग प्रभावकारी बनाउन माग गरेको प्रवक्ता खरेलले जानकारी दिएका छन्।
उनका अनुसार अझै ५ हजारभन्दा बढी नागरिक बेपत्ता रहेको र कैयौँ परिवार पीडामा रहेको उल्लेख गर्दै रास्वपाले मृत्यु भएको वा नभएको विषयमा छिटो छिनोफानो गर्न सरकारसँग माग गरेको छ।
बैठकमा मधेश प्रदेशको अधिवेशनका क्रममा देखिएका आन्तरिक समस्याबारे समेत छलफल भएको छ। सहमहामन्त्री हरि ढकाल संयोजक रहेको समितिले यससम्बन्धी अडिट रिपोर्ट बैठकमा प्रस्तुत गरेको र विस्तृत रिपोर्ट अर्को साता बुझाइने प्रवक्ता खरेलले जानकारी दिए।
त्यस्तै, पार्टीले अनुशासन आयोग तथा केही विभागमा नयाँ सदस्य मनोनयन गरेको छ। पार्टी उपसभापति तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको भारत भ्रमणबाट प्राप्त उपलब्धिबारे पनि बैठकमा समीक्षा गरिएको बताइएको छ।
पार्टी सभापति रवि लामिछानेले सरकारका मन्त्री, निर्वाचित सांसद तथा पार्टी नेताहरूको आचरणमा सुधार गर्दै पार्टी र सरकारबीचको सम्बन्धलाई अझ बलियो बनाउन निर्देशन दिनुभएको प्रवक्ता खरेलले जानकारी दिएका छन्। उनले पार्टी, संसद् र सरकारबीचको सम्बन्ध थप मजबुत बनाएर अघि बढ्नुपर्नेमा जोड दिएको बताइएको छ।































































