काठमाडौं- पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले विपद्पछिको सडक सञ्जाल पुनःस्थापनाका लागि तीव्र रूपमा काम भइरहेको बताएका छन्।
सोमबार सिंहदरबारमा प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा मन्त्री लम्सालले विपद्पछिको सडक पुनःस्थापनाका लागि आपत्कालीन टेन्डर, बजेट व्यवस्थापन तथा दीर्घकालीन पुनर्निर्माण रणनीतिबारे जानकारी गराएका हुन्।
उनले कृष्णभीरजस्ता स्थानमा सामान्य देखिए पनि भित्री भाग कटान भएर जटिल पहिरोको जोखिम रहेको बताए। प्रधानमन्त्री कार्यालयले असोज ७ गतेसम्म पुनर्निर्माण लागतको विवरण माग गरेअनुसार मन्त्रालयले समयअगावै काम सम्पन्न गरी विपद् प्राधिकरणमा विवरण पठाइसकेको जानकारी दिए।
मन्त्री लम्सालका अनुसार सडक, दुई वटा वैकल्पिक मार्ग, देशभरका पहिरो तथा भविष्यका लागि आवश्यक उपकरण व्यवस्थापनसहित करिब ९० अर्ब रुपैयाँ आवश्यक पर्ने अनुमान गरिएको छ। भवन, खानेपानी, सहरी विकासलगायत सबै क्षेत्रको लागत जोड्दा कुल बजेट करिब १०० अर्ब रुपैयाँ पुग्ने उनको भनाइ छ।
उनले पुनर्निर्माणका काम नरोक्न अन्य आयोजनाबाट समेत बजेट कटौती गरेर आवश्यक व्यवस्थापन गरिएको बताए। हाल सडक सञ्चालनका लागि अस्थायी रूपमा मात्रै पहिरो पन्छाइएको उल्लेख गर्दै बाढी तथा पहिरोले जोखिमयुक्त बनाएका पुराना स्थानमा पुनः स्थायी सडक नबनाइने स्पष्ट पारे।
मन्त्री लम्सालले ‘बिल्ड ब्याक बेटर’ अवधारणाअनुसार द्रुत प्रक्रियामा डीपीआर तयार गरी डिजाइन पुनरावलोकन गरेर सुरक्षित स्थानबाट नयाँ सडक निर्माण गरिने जानकारी दिए।
बैठकले रसुवा, नुवाकोट, धादिङलगायत बाढी तथा पहिरो प्रभावित जिल्लाका सडक, ग्रामीण सडक, पुल, खानेपानी तथा ढल व्यवस्थापन पूर्वाधारमा भएको क्षतिको यथार्थ विवरण र विस्तृत कार्ययोजना तयार गरी पेस गर्न पूर्वाधार विकास मन्त्रालयलाई निर्देशन दिएको छ।































































