काठमाडौं – भैरहवा नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले उत्कृष्ट अभिकर्तालाई सम्मान गर्नुका साथै सम्पत्ति शुद्धीकरण, एआई तथा डिजिटल मार्केटिङसम्बन्धी प्रशिक्षणसहित वार्षिक चेयरपर्सन क्लब कार्यक्रम सम्पन्न गरेको छ।
भैरहवास्थित होटल सिद्धार्थ भिलासामा आयोजित कार्यक्रम दुई रात तीन दिनसम्म सञ्चालन भएको थियो। आर्थिक वर्ष २०८२/८३ का लागि निर्धारित लक्ष्य पूरा गरी चेयरपर्सन क्लबका लागि छनोट भएका अभिकर्ता तथा कम्पनीका विभागीय प्रमुख, प्रदेश प्रमुख, शाखा प्रमुख र मार्केटिङ कर्मचारीसहित ५ सय ६५ जनाको सहभागिता रहेको थियो।
कार्यक्रमको सुरुवात भोटेकोशीमा आएको भीषण बाढी तथा प्राकृतिक विपद्का कारण घाइते तथा बिरामीको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण र शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गर्दै एक मिनेट मौनधारणबाट गरिएको थियो।
कार्यक्रमको औपचारिक उद्घाटन चेयरपर्सन श्रीमती प्रेमाराज्य लक्ष्मी सिंहले पानसमा दीप प्रज्वलन गरी गर्नुभएको थियो। उद्घाटनका क्रममा उहाँले अभिकर्तालाई थप व्यावसायिक र दक्ष बनाउँदै उनीहरूको सीप, क्षमता विकास तथा व्यावसायिकता अभिवृद्धिका लागि कम्पनीले निरन्तर सहयोग र सहकार्य गर्ने बताएकी छिन्।
उनले अभिकर्ता सञ्जालमा नेतृत्व विकास महत्वपूर्ण रहेको उल्लेख गर्दै त्यसका लागि कम्पनीले आवश्यक लगानी गर्ने प्रतिबद्धता पनि व्यक्त गरेकी छिन्।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीले आर्थिक वर्ष २०८२/८३ मा कम्पनीले हासिल गरेको ऐतिहासिक व्यावसायिक उपलब्धि नेशनल लाइफ परिवारको सामूहिक सफलता भएको बताएका छन्। नयाँ आर्थिक वर्षको सुरुवातसँगै कम्पनी स्पष्ट लक्ष्य, मापनयोग्य रणनीति र उच्च व्यावसायिक प्रतिबद्धताका साथ अघि बढिरहेको उनको भनाइ छ।
कार्यक्रममा चेयरपर्सन क्लब सदस्यता वितरणसँगै सञ्जाल र आफ्नो कोडको व्यवसायमा नेपालभर प्रथम, द्वितीय र तृतीय तथा समूहगत व्यवसायमा उत्कृष्ट हुने अभिकर्तालाई सम्मान गरिएको थियो। साथै सेन्टुरियन क्लब, नेशनल स्टार, नेशनल सुपरस्टार तथा लगातार १० वर्षसम्म चेयरपर्सन क्लबमा छनोट हुन सफल अभिकर्तालाई पनि विशेष सम्मान गरिएको थियो।
कार्यक्रममा सहभागी अभिकर्ताको ज्ञान, सीप तथा क्षमता अभिवृद्धिका लागि विभिन्न विषयमा प्रशिक्षणसमेत प्रदान गरिएको थियो। नेपाल बीमा प्राधिकरणका उपनिर्देशक पदमप्रसाद सडारीले सम्पत्ति शुद्धीकरणसम्बन्धी प्रशिक्षण दिनुभएको थियो। उनले बीमालाई माध्यम बनाएर सम्पत्ति शुद्धीकरणसम्बन्धी गतिविधि बढ्न सक्ने भएकाले शंकास्पद गतिविधिको सूक्ष्म निगरानी, आवश्य हुने बताएका छन् ।
त्यस्तै, प्रशिक्षक विश्वराज पौडेलले कृत्रिम बुद्धिमत्ता (एआई) का विभिन्न प्रयोगात्मक उदाहरण प्रस्तुत गर्दै बीमा व्यवसायमा एआई प्रविधिलाई कसरी जोड्न सकिन्छ भन्नेबारे प्रशिक्षण दिएका छन्। उनले ग्राहकसँगको सम्पर्क, सामग्री निर्माण, व्यावसायिक योजना तथा सूचना व्यवस्थापनलगायतका क्षेत्रमा एआईको प्रयोग गर्न सकिने सम्भावनाबारे जानकारी दिएका छन्।
अर्का प्रशिक्षक सञ्जोग कोइरालाले डिजिटल युगमा डिजिटल माध्यमको प्रभावकारी प्रयोगमार्फत बीमा व्यवसाय विस्तारमा लाभ लिन सकिने बताउनुभयो। डिजिटल प्लेटफर्म प्रयोग गर्दा प्रचलित कानुन तथा नियामकीय व्यवस्थाको पूर्ण पालना गर्नुपर्ने र सत्यतथ्य सूचना तथा स्वीकृत सामग्री मात्र सार्वजनिक गर्नुपर्नेमा उनले जोड दिए ।
कार्यक्रममा उत्कृष्ट अभिकर्ताहरूले वर्षभर निरन्तर मेहनत, अनुशासन र उत्कृष्ट व्यावसायिक प्रदर्शन गरेपछि मात्र चेयरपर्सन क्लबमा छनोट हुन सकिने बताएका थिए। उनीहरूले वर्षभर गरेको मेहनतको परिणामस्वरूप प्राप्त सम्मानले आफ्नो प्रयासलाई थप सार्थक बनाएको बताएका छन्।































































