काठमाडौं- निक्षेप तथा कर्जा सुरक्षण कोषले गरेको मूल्यांकनमा नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेड कर्जा सुरक्षण गर्ने उत्कृष्ट लघुवित्त संस्थामध्ये तेस्रो स्थानमा पर्न सफल भएको छ।


ADVERTISEMENT


कोषको ५३औँ वार्षिकोत्सवका अवसरमा आयोजित विशेष कार्यक्रममा कर्जा सुरक्षणतर्फ तेस्रो स्थान हासिल गरेको नेरुडे मिर्मिरेलाई सम्मानपत्र प्रदान गरिएको हो।


ADVERTISEMENT

# # #


कर्जा सुरक्षण गर्ने लघुवित्त वित्तीय संस्थातर्फ नेशनल लघुवित्त वित्तीय संस्था पहिलो, डिप्रोक्स लघुवित्त दोस्रो र नेरुडे मिर्मिरे तेस्रो भएका छन्।

विशेष समारोहमा प्रमुख अतिथि अर्थ सचिव डा. घनश्याम उपाध्यायले तीनवटै उत्कृष्ट संस्थाका प्रतिनिधिलाई सम्मानपत्र प्रदान गरेका थिए।

सम्मानपछि प्रतिक्रिया दिँदै नेरुडे मिर्मिरेका प्रमुख कार्यकारी अधिकृत मीनबहादुर बोहराले उपलब्धिलाई संस्थाको समग्र टिमको सफलताका रूपमा व्याख्या गरेका छन्। उनले सम्मानको श्रेय आफू वा वर्तमान नेतृत्वमा मात्र सीमित नरहेको स्पष्ट पार्दै कर्मचारी, सञ्चालक समिति र पूर्वप्रमुख कार्यकारी अधिकृतहरूको योगदानलाई स्मरण  गरे।

 

संस्थाको निरन्तर प्रगति र कर्जा सुरक्षणमा हासिल भएको परिणाम पछाडि कर्मचारीहरूको निरन्तर मेहनत, सञ्चालक समितिको मार्गदर्शन तथा विगतका नेतृत्वको अनुभव र योगदान महत्वपूर्ण रहेको सीईओ बोहराको भनाइ छ।

 उनले प्राप्त सम्मानले संस्थालाई आगामी दिनमा अझ जिम्मेवार भएर काम गर्न प्रेरणा दिएको बताउँदै वित्तीय सेवाको पहुँच विस्तारसँगै कर्जा सुरक्षणका क्षेत्रमा पनि प्रभावकारी भूमिका निर्वाह गर्दै जाने प्रतिबद्धता व्यक्त गरेका छन्।

बोहराका अनुसार संस्थाले हासिल गरेको उपलब्धिलाई कुनै एक व्यक्ति वा नेतृत्वको उपलब्धिका रूपमा नभई संस्थामा आबद्ध सम्पूर्ण कर्मचारी तथा नेतृत्वको सामूहिक प्रयासको परिणामका रूपमा लिनुपर्छ।

कार्यक्रममा नेपाल राष्ट्र बैंक, लघुवित्त वित्तीय संस्था सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक तथा निक्षेप तथा कर्जा सुरक्षण कोषका सञ्चालक समिति सदस्य राजन विक्रम थापा विशिष्ट अतिथिका रूपमा उपस्थित रहेका थिए।

कर्जा सुरक्षणका क्षेत्रमा गरेको योगदानको कदरस्वरूप प्राप्त सम्मानले नेरुडे मिर्मिरेको संस्थागत कार्यसम्पादनलाई थप प्रोत्साहन मिल्ने अपेक्षा गरिएको छ। संस्थाले आगामी दिनमा वित्तीय सेवा थप विस्तार गर्दै सेवाग्राही तथा ऋणीको हितलाई केन्द्रमा राखेर काम गर्ने जनाएको छ।

निक्षेप तथा कर्जा सुरक्षण कोषले बैंक तथा वित्तीय संस्थामार्फत हुने निक्षेप तथा कर्जाको सुरक्षण गर्दै वित्तीय क्षेत्रको स्थायित्व, निक्षेपकर्ताको विश्वास र ऋणीको हित संरक्षणमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ।