काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै गर्दा वरिष्ठ नेता पूर्णबहादुर खड्का भने ‘पर्ख र हेर’को अवस्थामा देखिएका छन्। पार्टीका नेताहरू महाधिवेशनको तयारीमा जुटिरहँदा खड्काको ध्यान भने सर्वोच्च अदालतमा विचाराधीन पुनरावलोकन मुद्दाको फैसलातर्फ छ।
विशेष महाधिवेशनको वैधानिकतासम्बन्धी विवादमा सर्वोच्चको निर्णय नआएसम्म आफू कुनै पक्षमा खुलेर नलाग्ने संकेत खड्काले दिएका छन्। उनले आइतबार सर्वोच्च अदालतलाई पुनरावलोकन मुद्दामा अग्राधिकार दिएर यथाशीघ्र अन्तिम फैसला गर्न आग्रहसमेत गरेका छन्।
खड्कानिकट अधिकांश नेता भने मूल पार्टीको गतिविधिमा फर्किसकेका छन्। तर खड्का स्वयंले भने अदालतको निर्णयपछि मात्रै आफ्नो आगामी राजनीतिक कदम तय गर्ने मनस्थिति बनाएका छन्।
१४औँ महाधिवेशनमा देउवा समूहबाट उपसभापति निर्वाचित खड्काको मौनताले कांग्रेसको १५औँ महाधिवेशनमा उनको भूमिकालाई थप चासोको विषय बनाएको छ।































































