काठमाडौं -नेकपा एमालेको केन्द्रीय कमिटी बैठकको तेस्रो दिन केन्द्रीय कमिटी सदस्यहरूले आफ्नो धारणा राखेका छन्।


ADVERTISEMENT


बैठकमा एमाले केन्द्रीय सदस्य पर्शुराम बस्नेतले पहिलो शर्त नै नीति र नेतृत्वको रक्षा, संविधानको रक्षा, लोकतन्त्रको रक्षा, राष्ट्र र राष्ट्रियता तथा राष्ट्रिय एकताको रक्षा भएको बताए। उनले भने, ‘हिजो राष्ट्रियताको रक्षाका लागि, नीतिको रक्षाका लागि, देशको रक्षाका लागि, आन्दोलनको रक्षाका लागि र नेतृत्वको रक्षाका लागि हामी मृत्यु वरण गर्न तयार थियौँ, गोली खान तयार थियौँ। तर आज हामी नीतिको रक्षाका लागि, नेतृत्वको रक्षाका लागि, देशको रक्षाका लागि, लोकतन्त्रको रक्षाका लागि, संविधानको रक्षाका लागि र राष्ट्रियताको रक्षाका लागि गाली पनि खान तयार छैनाै ।’  त्यस कारण हामी कमजाेर भयाैं । याे सबै कुरा स्थापित गर्न हामी गाेली पनि खान तयार हुनुपर्छ ।”


ADVERTISEMENT

# # #


यस कारण राष्ट्रियता र आन्दोलन कमजोर भएको उनको भनाइ छ। एमाले कमजोर नभएसम्म मुलुकमा कुनै पनि राजनीतिक शक्ति अघि बढ्न नसक्ने र विदेशी चलखेलसमेत अघि बढ्न नसक्ने निष्कर्षसहित नेकपा एमाले नीतिप्रति प्रतिबद्ध भएर बस्ने उनले बताए।

एमाले संविधान र व्यवस्थाको रक्षामा दृढ भएर उभिने बताउँदै उनले एमालेलाई छिन्नभिन्न बनाउने, विभाजन गर्ने र पुनर्गठनका नाममा पार्टीभित्र विभाजनको रेखा कोर्ने कामलाई केन्द्रीय कमिटी बैठकले खारेज गरेको बताए। आन्दोलन र नेतृत्वको रक्षाका लागि, नीतिको रक्षाका लागि र देशको रक्षाका लागि हिजो गोली खान तयार भएजस्तै आज पनि आफूहरू मृत्यु वरण गर्न र गोली खान तयार रहेको उनले बताए। पार्टीको आन्तरिक एकतालाई बलियो बनाउनुपर्नेमा जोड दिँदै उनले ‘एकता, एकता, एकताको विकल्प छैन’ भन्ने निष्कर्ष बैठकले निकालेको बताए। एकताबाट मात्रै पुनर्जागरण पैदा गर्न सकिने उनको भनाइ छ।

समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय गन्तव्य पूरा गर्न एकताबद्ध नेकपा एमाले निर्माण गर्दै अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा फेरि आन्दोलनलाई अघि बढाउने र मुलुकको निर्णायक राष्ट्रिय शक्ति निर्माण गर्ने संकल्पसहित बैठक सम्पन्न हुने उनले बताए।

अध्यक्ष केपी शर्मा ओलीले ल्याएको राजनीतिक प्रस्ताव सर्वसम्मत रूपमा पारित भएको उल्लेख गर्दै उनले बैठकका सबै विषय पनि सर्वसम्मत र एकताबद्ध रूपमा टुंग्याएर बैठक सम्पन्न हुने बताए।