ललितपुर – महालक्ष्मी नगरपालिकामा प्रथम नगरस्तरीय अन्तरमाध्यमिक विद्यालय एकल गायन प्रतियोगिता सम्पन्न भएको छ।
महालक्ष्मी नगरपालिकाको आयोजनामा तथा वेस्ट विङ माध्यमिक विद्यालयको व्यवस्थापनमा आयोजित प्रतियोगितामा नगरभित्रका ३५ विद्यालयका ६४ जना विद्यार्थीले सहभागिता जनाएका थिए।
प्रतियोगितामा सहभागी विद्यार्थीहरूले लोकगीत, आधुनिक तथा देशभक्तिपूर्ण गीत प्रस्तुत गरेका थिए। प्रतियोगिताको छात्रातर्फ विश्वामित्र गणेश माध्यमिक विद्यालयकी उपासना सुनार प्रथम, महेन्द्र आदर्श माध्यमिक विद्यालयकी अनिषा विक द्वितीय र पवन प्रकृति अंग्रेजी माध्यमिक विद्यालयकी कृतिका लामा तृतीय भएका छन् ।
त्यस्तै, छात्रतर्फ युनाइटेड स्कुलका प्रथम थापा प्रथम, तारापुञ्ज इङ्लिस स्कुलका विकल्प श्रेष्ठ द्वितीय र ललित एकेडेमीका रोहित सुनार तृतीय भएका छन् ।
नगर प्रमुख हरिगोविन्द श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उनले यस्ता प्रतियोगिताले विद्यार्थीभित्र लुकेको प्रतिभा उजागर गर्नुका साथै सिर्जनशीलता, आत्मविश्वास र सकारात्मक सोचको विकासमा महत्वपूर्ण योगदान पुर्याउने बताए ।
शिक्षा निर्देशक चिरञ्जीवी पौडेलले अतिरिक्त क्रियाकलापले विद्यार्थीको प्रतिभा प्रस्फुटन गराउनुका साथै नेपाली भाषा, कला, संस्कृति र मौलिकताको संरक्षणमा समेत योगदान पुर्याउने बताए। नगर उपप्रमुख लक्ष्मी महर्जनले विद्यार्थीको प्रतिभा पहिचान र प्रोत्साहनका लागि यस्ता प्रतियोगिता महत्वपूर्ण रहेको उल्लेख गरे।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत अमित ढुङ्गाना, विभिन्न वडाका वडाध्यक्ष, नगर शिक्षा समिति सदस्य, प्रधानाध्यापक, शिक्षक, अभिभावक तथा विद्यार्थीको सहभागिता रहेको थियो।
प्रतियोगिताका उत्कृष्ट विद्यार्थीलाई प्रमाणपत्र र मेडल प्रदान गरिएको थियो भने प्रथमदेखि चौथो स्थान प्राप्त गर्ने विद्यार्थीलाई नगद पुरस्कारसमेत प्रदान गरिएको आयोजकले जनाएको छ।
































































