न्युयोर्क – दक्षिण एसियामा विद्युत्को माग तीव्र रूपमा बढिरहेका बेला नेपालले आफ्नो जलविद्युत् तथा नवीकरणीय ऊर्जा सम्भावनालाई क्षेत्रीय ऊर्जा बजारसँग जोड्नुपर्नेमा नेपाली सञ्चार उद्यमी तथा जलवायु एवं स्वच्छ ऊर्जा अभियन्ता समृद्धि ज्ञवालीले जोड दिएकी छन्।


ADVERTISEMENT


क्लाइमेट विक न्युयोर्कअन्तर्गत आयोजित कार्यक्रममा सहभागी हुँदै ज्ञवालीले डेटा सेन्टर, कृत्रिम बौद्धिकता (एआई), विद्युतीकरण तथा नयाँ प्रविधिको विस्तारसँगै आगामी दिनमा विद्युत्को माग थप बढ्ने उल्लेख गर्दै नेपालले त्यसबाट आर्थिक अवसर सिर्जना गर्न सक्ने बताइन्।


ADVERTISEMENT

# # #


उनले नेपालले जलवायु परिवर्तनबाट भइरहेको क्षति र ‘लस एन्ड ड्यामेज’को विषय उठाउँदै आएको भए पनि आफ्नो स्वच्छ ऊर्जा क्षमता र क्षेत्रीय योगदानलाई समेत अन्तर्राष्ट्रिय जलवायु कूटनीतिको महत्वपूर्ण हिस्सा बनाउनुपर्ने बताइन्।

‘नेपाल हिमनदी पग्लिरहेको देशका रूपमा मात्र चिनिनु हुँदैन। हामीसँग दक्षिण एसियाको बढ्दो ऊर्जा माग पूरा गर्न सक्ने स्वच्छ ऊर्जा सम्भावना पनि छ,’ ज्ञवालीले भनिन्। उनका अनुसार स्वच्छ ऊर्जा आपूर्तिकर्ता बन्न नेपालले विद्युत् उत्पादन क्षमता बढाउनुका साथै प्रसारण प्रणाली, ऊर्जा भण्डारण, क्षेत्रीय विद्युत् अन्तरसम्बन्ध र जलवायु उत्थानशील पूर्वाधारमा लगानी बढाउन आवश्यक छ।

ज्ञवालीले जलवायु न्यायलाई आर्थिक अवसरसँग जोड्नुपर्ने उल्लेख गर्दै नेपालले जलवायु वित्त, प्रविधि हस्तान्तरण र अनुकूलन सहयोगसँगै आफ्नो स्वच्छ ऊर्जा बजार विस्तारका लागि अन्तर्राष्ट्रिय साझेदारी खोज्नुपर्ने बताइन्।

‘जलवायु परिवर्तनबाट भएको क्षतिको क्षतिपूर्ति मात्रै हाम्रो लक्ष्य हुनु हुँदैन। ऊर्जा रूपान्तरणमा नेपालले के योगदान गर्न सक्छ र त्यसबाट नेपाली जनताका लागि कस्तो आर्थिक अवसर सिर्जना गर्न सकिन्छ भन्ने विषय पनि महत्वपूर्ण छ,’ उनले भनिन्। उनले हिमालय संरक्षण र स्वच्छ ऊर्जा विकासलाई परस्पर जोडेर अघि बढाउन सके नेपालले जलवायु चुनौतीलाई दीर्घकालीन आर्थिक अवसरमा रूपान्तरण गर्न सक्ने धारणा राखिन्।