काठमाडौं- लगातारको वर्षाका कारण बागमती नदी तथा यसका सहायक खोलाहरूमा जलसतह अत्यधिक बढेको छ । वर्षा नरोकिएपछि काठमाडौं उपत्यकाका नदी तथा खोलामा पानीको बहाव बढ्दै जाँदा नदी किनार र तटीय क्षेत्रमा बाढी तथा डुबानको जोखिमसमेत बढेको छ ।
उपत्यकाको पानी बाहिरिने मुख्य प्राकृतिक निकास मार्ग चोभार गल्छीमा बागमती नदी उर्लिएर तीव्र गतिमा बगिरहेको छ । काठमाडौं उपत्यकाका बागमती, विष्णुमती, धोबीखोला, मनोहरा लगायतका साना–ठूला खोलाको बाढी मिसिएर चोभार गल्छीतर्फ जाने भएकाले साँघुरो भू–बनोटका कारण बागमतीको बहाव बढेको देखिएको छ ।
नदीमा जलसतह निरन्तर बढ्दै गएपछि च्यासल, थापाथली, टेकु, बल्खु तथा बल्खु–सुन्दरीघाट क्षेत्रका करिडोर सडकमा बाढी पस्ने र डुबान हुने जोखिम बढेको छ । विशेषगरी नदी किनार आसपासका सडक तथा तल्लो भूभागमा पानीको सतह बढ्न सक्ने भएकाले सर्वसाधारणलाई थप सावधानी अपनाउन आग्रह गरिएको छ ।
सुरक्षा निकायले बागमती र विष्णुमती करिडोरका सडकमा पानी ओभरफ्लो हुन सक्ने भन्दै नदी तटीय करिडोर हुँदै यात्रा नगर्न र सम्भव भएसम्म वैकल्पिक बाटो प्रयोग गर्न सर्वसाधारणलाई आग्रह गरेका छन् ।
सम्भावित जोखिमलाई मध्यनजर गर्दै नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा स्थानीय विपद् व्यवस्थापन टोलीले नदी किनारका सुकुम्बासी बस्ती तथा होचा भूभागमा गस्ती र निगरानी बढाएका छन् । नदीको बहाव र जलसतहमा आएको परिवर्तनबारे नियमित अनुगमनसमेत भइरहेको छ ।
नेपाल मौसम विज्ञान विभागले बागमती नदी जलाधार क्षेत्रमा भारी वर्षा भइरहेको भन्दै जलसतह खतराको तह नजिक पुग्न सक्ने चेतावनी दिएको छ । नदी तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सतर्क रहन र नदी किनारमा नजान विभागले आग्रह गरेको छ ।
बंगालको खाडीमा विकसित न्यूनचापीय प्रणालीको प्रभावका कारण काठमाडौं उपत्यकासहित देशका विभिन्न भागमा अझै केही समय वर्षा जारी रहने सम्भावना रहेको छ । वर्षा जारी रहे नदी तथा खोलामा जलसतह थप बढ्न सक्ने भएकाले प्रशासनले सम्भावित बाढी, डुबान तथा अन्य जोखिमबाट जोगिन उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।
































































